Last modified on 16 मई 2020, at 20:39

ओछ्यानमा पल्टिरहँदा / नोरेम

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:39, 16 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=नोरेम |अनुवादक= |संग्रह= }} {{KKCatKavita}} {{KKCat...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

औडाहा चलेको मन
अन्धाधुन्ध दौडन्छ चारैतिर
थाकेर चूर भएपछि
दिउसै पल्टन्छु ओछयानमा
आँखामा अनायासै टाँसिन आइपुग्छ
कोठाको सम्पूर्ण परिवेश
 
र्‍याकमा थन्किएका
पुस्तकहरू नियाल्छु
एकलासे जीवनका साथीहरू
मुस्कुराइरहे झैँ लाग्छन्
मलाई नै हेरेर
 
भित्तामा झुन्डिएका
प्रत्येक फोटाहरू
केही बोल्न खोजे झैँ लाग्छन्
एउटा परिच्छेद सकिएको
जीवन कथा
फोटाहरूमा जीवन्त हुन्छन्
समुन्द्री किनारको
एउटा सुन्दर यात्रा
जीवनको ऊर्जाले उद्दीप्त क्षण
आँखाका परेलीहरूमा उर्लिन्छन्
फोटाहरू संवाद गर्छन्
 
देख्छु,
टेबलमा लडिरहेको छ
मसी निख्रिएको एउटा कलम
लेख्न बाँकी डायरी
रिसाएर घोप्टिएको
टेलिफोनको रिसिभर
चाबी अड्किएको दराज
खाली खाली सोफा
 
कोठाभित्र यात्रारत आँखाहरू
अड्किन्छन्
भित्ताको एउटा कुनामा
जहाँ अझै बाँकी रहेछ
माकुराको जालो
माकुराका अनेक आयाम
अत्यासलाग्दो भएर
घनिभूत हुन्छ मस्तिष्कमा
अकस्मात मात लागे झैँ
भूस भएर निदाएँछु
र बर्बराउन थालेँछु
दिउसै फेरि सपनामा ।