भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

व्यर्थै बोलायौ काठमाण्डू, तिमीले मलाई / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:18, 7 जून 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सुमन पोखरेल |अनुवादक= |संग्रह= शून...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

यसपाली निकै दुख्यौ
काठमाण्डू, तिमी !

मैले त ‘आउँदिनँ’ भनेको थिएँ
तर नआएर पनि नहुने नै थियो ।

हुन त, तिमी सँधै दुखेकै हौ
आफूलाई पनि
अरूलाई पनि ।

तर
यसपालि निकै दुख्यौ ।

तिमीले बिदा गर्दा
मलाई साँझमा
तिमीलाई पनि दुखेथ्यो होला मनको अन्तरमा कतै।

तर पनि तिमीले
बिदा गर्‍यौ मलाई
बिछोड भएकी प्रेयसीले जसरी ।



सडकभरि छाइरहेँ जिन्दगीजस्तै
निस्कन नसक्ने लोग्नेमान्छेको आँशु बोकेर
छातीभरि।

हुनुको यो पीडा
यो भएर पनि नहुनुको पीडा
लोग्नेमान्छेको यो पीडा
तिमी स्वास्नीमान्छे
कसरी चिन्न सक्थ्यौ होली र?
बुझ्न कसरी सक्थ्यौ होली?
यो निस्कन नसकेको आँशुको ताप
तिमी कसरी महसुस गर्न सक्थ्यौ होली?

त्यसैले, काठमाण्डू
तिमीसँग मलाई माया लाग्यो
तर तिमीसँग मलाई चित्त पनि दुख्यो।

सांसारिक कुरो थियो त्यो
जसले गर्दा तिमीले मलाई बिदा गर्‌यौ साँझमा।

म पनि संसार मैं थिएँ त्यसबेला, र
तिमीबाट फर्किँदै गर्दा
सुस्केरा भइरहे मेरा आँशुहरू,
र उडिरहे धूँवाहरू चुरोटका, हावाभरि
र जमिरहे छातीभरि ।

काठमाण्डू, तिमीलाई बोलाएँ मैले
तिमी आइनौ
मलाई बोलायौ तिमीले र
म आएँ ।
म आएँ र चोट पाएँ ।
यहाँ आउनेहरूले नै चोट पाउने चलन छ
जो यहाँ आउँदैनन् त्यसले चोट सहन पर्दैन।

त्यो नियम हो प्रकृतिको
यो चलन हो जिन्दगीको ।

त्यसैले दुःख खानु पर्दछ आउनेले ।

छटपटीमा रात काटेर
सिरेटो र हिलोसँगै
वर्षाद र बाढीसँगै, धूँवासँगै;
आँखाले, छातीले
मनले र जीवनले ।

लोग्नेमान्छेले
रुनु हुँदैन अरूले देख्ने गरी
एउटा नियम हो, समाजको यो ।

र मैले
तिम्रा आँशु देखेर
पुछ्न पाइनँ पनि ।

त्यसैले
मलाई यस्तो लाग्न थालेको छ-
आँशु स्वास्नी कै हुनु पर्दछ
आफ्नै स्वास्नीले मात्र आँशु पोख्नुपर्छ
ता कि
छातीभरि थाप्न सकियोस् पीरहरूलाई
आँखाभरिका आशुँ पुछ्न सकियोस् चुम्बनहरूले ।

या त,
अरूका स्वास्नीहरू रुन्छन् भने
तिनीहरूको माया नलागोस् आफूलाई,
या जति रुनु छ, रोउन् लोग्नेमान्छेहरू ।

तर काठमाण्डू,
तिमी त अर्काकी स्वास्नी र
मेरी प्रेयसी भएर रोयौ,
र मैले आँशु पुछ्न सकिनँ तिम्रो
र मेरा सुस्केराहरू
डेढ वा अढाई रुपियाँ गोटाका धूँवा भएर निस्किए ।

रक्सी त महँगो छ विदेशी
घरचुवा अझै पनि गैह्रकानूनी नै छ
त्यसैले मेरा सुस्केराहरू धूवाँका मुस्ला भएर निस्किन्छन्
र आकाश र छातीमा ओहोरदोहोर गरिरहन्छन् ।

काठमान्डु!
त्यसै पनि जीवन अमूर्त भएको बेला
र मृत्यु र जिन्दगी पालैपालो
आउदै जाँदै गरेको बेलामा
मनमा मस्तिष्कको ग्रहण
मस्तिष्कमा मनको ग्रहण लागेको बेला
क्षणिक अँध्यारो
क्षणिक उज्यालो
मुस्कान हो वा रोदन नछुट्टिने बेलामा
मैले यसबेला यहाँ हुनुपर्थ्यो भन्ने लाग्दै छैन मलाई ।

आँखा धमिला भएर हो वा त्यस्तै नै हो
बागमती देख्दिनँ आजकल बगेको म
एउटा धमिलो कुलो बगिरहेको देख्छु
उहिलेउहिले बागमती बग्ने ठाउँमा
केही तलतिर
पातालतिर।
यस्तो दुर्वलताको बेला
व्यर्थै बोलायौ काठमाण्डू, तिमीले मलाई ।

काठमाण्डू,
तिम्रो हार्दिक स्पर्श नपाएपछि
तिमीले मलाई माया गर्न नसकेपछि
यो सम्पन्नता र
ढुङ्गे बगरमा के फरक रह्यो र मेरा लागि!

काठमाण्डू,
तिमी मलाई माया गर्न सक्दिनौ भने
किन तिमी मेरी प्रेयसी भयौ ?
जहाँ, म आफ्नो सर्वश्व देखूँ
जहाँ म आफ्नो सामर्थ्य पोखूँ ?
तिमी किन मेरी सबैथोक भयौ ?
काठमाण्डू,
किन तिमी मेरी राजधानी भयौ ?