नितान्त / ईश्वरवल्लभ
पातालका ती प्रेतहरूका छायालाई
रगतहरू पिउन दिएर, पाल्छु ओडिसस !
परे जहिलेसुकै घरबाहिर
(मेरा गीतहरूलाई परेका अपमान जस्तै)
फाल्तू आकाश बोक्छ फाल्तू विश्वाससमेत
बिहानका आँखाहरू च्यातिएर आएका होइनन्
विश्वासभरि पैरो गएर म भैरवको भोक लिप्सा मेरा खरायोहरू
बोका, राँगा, हाँस र कुखुराहरू काट ! काट ए मानिसहरू !
दन्त्यकथा यिनैका हुन्छन् मिथ यिनैका,
काट पाखुराहरू उचालेर उँभो दैत्य देशसम्म
दैत्यका चिङ्ग्नाहरूले पर्खँदैछ आलो मूर्दा ।
जतासुकै अचेल मूर्दा आलो छ,
क्षरित हुनुबाहेक त्यसमा त कुनै मृत्यु नै छैन
विरुपाक्ष जस्तो जिउँदो जीउ माटोसम्म भास्सेर पनि ।
हातखुट्टा नभए पनि, प्वाँख नभए पनि
मैले हाँगाहरू र पात नभएर रुख जिउँछु,
जरामा कीरा खाइसक्छ मलाई
मैले उभिएको तैपनि सबभन्दा ठूलो सत्य
सङ्घर्ष सबभन्दा ठूलो सत्य,
अब त बैले नृत्य पनि गर्दैनन् यी मानिसहरू
अब त मानिसहरू प्वाँख उनेर टाउकोमा राजाहरू पनि हुँदैनन्
मलाई केही नभएको रुच्छ, त्यसैले
मासु पोलेका गन्धहरू रुच्छ, त्यसैले
ओदान-वरिपरि ।
यी काठ काटेका शब्दहरू, ब्याले नृत्य
जेसुकै काटेका शब्दहरू, ब्याले नृत्य
मान्छे मरेका शब्दहर, ब्याले नृत्य
बाँच्न खोजेका शब्दहरू
शब्दहरू ! शब्दहरू ! शब्दहरू ! मात्र शब्दहरू ब्याले नृत्य !
तिमीलाई रुच्छ यी शब्दहरू यी नृत्यहरू अनि स्ट्रिपटिजहरू !
म पर गइरहेको छु आक्रमणका सत्यहरू मलाई याद छ ।
म स्वप्न भइरहेको छु स्वप्नका आशयहरू मलाई थाहा छ
म अनागत हुन्छु
म तथागत हुन्छु
मलाई विश्वासका आकृतिहरू थाहा छ,
मलाई तेलले पोलेका यी हातहरू थाहा छ
मलाई दुखेको थाहा छ
नदुख्दा झन् पीर परेको थाहा छ ।
तिम्रा बैँसहरूसित मेरो बैर छैन थाहा छ
मलाई कसैसित शत्रुता छैन ।
म आगोहरू कहीँ जलाउँदिनँ
थाहा छ, मात्र थाहा छ,
थाहा छ, मात्र थाहा छ ।
मैले यो लेखेको होइन—नलेखीकन यो भएको हो
हुनु नै लेख्नु पर्दैन मलाई थाहा छ ।
(उफ् ! म किन थाहा पाइरहन्छु,)
जहिलेसुकै आकाश भइरहने आकाशलाई मेरा स्वरहरू
दिन समात्न सकिन्छ, भन्छ—रात पनि,
मुट्ठीभरि ओगटिरहेका साँझहरूलाई समेत रुच्दैन,
अल्छी बसेका छालहरू जस्तै, जीउ कन्याइरहेका आँखाहरू जस्तै
मैले बोकेका पहाड तिमीले पनि बोकेका छौ हुन्छ,
मैले उठाएका मारहरू
यहाँ हेर कसैले गीता भनिसक्यो बग्गी चढेर,
अब त युद्ध हुनेवाला छ, यहीँ हुनुपर्छ ।
युद्धका बैँस तरुणीका तिघ्रा जत्तिकै पोटिला र अश्लील हुन्छन्,
आतङ्कहरू अश्लील हुन्छन् र आकर्षक हुन्छन् ।
ओलिम्पियाको अग्ला शिखर म्युजहरू नाच्छन्
मलाई ती आकर्षक छन् ।
कता जाने गोरेटो
यो त उही जाने मात्र जाने,
हामी खालि जान आएका हौँ ।
अगेनाका वरिपरि बसेर बज्यैले भनेको उहिले कथा यो हो—
एउटा राजा थियो एकादेशमा, रानी पनि थिई
राज्य पनि थियो,
कपाल कोरेर बलिरहेको समयले
एउटा राजा थियो त्यहाँ राजाको आँखा थियो ठूलो
परेलाहरूसमेत रहेनछन्, यसरी
टाँस्सिएर परेका आवास रहेनछन् ।
यिनका कहीँ घर रहेनछन् न ओतहरू, न ओत छहारीहरू,
ढुङ्गा-बगर जस्ता छाती उचालेकाहरू,
पोथ्रा-पोथ्रा सुम्सुम्याउँछन्
बलेँसी-बलेँसी-बलेँसीमा होइनन्
होइनन्, पानी ओर्लेका पानी होइनन्
बसिबियाँलो पनि भयो लामो यात्राको घटनाहरू भन्दै,
अपेक्षित र अनपेक्षित असृजित अनि सृजित, स्वयंभूत
माथ्ला गाउँमा झोला बोकेर आएको रे फकीर,
राति सबैलाई निद्रा ब्यूँझने गरी
मानिसको हाडको तुरही (मानिसको तुरही बन्न सक्दो रहेछ, अहो !)
कालले झण्डै लगेको नत्र तुरही ऊ के बजाउँथ्यो बिचरा !
के हिर्काउँथ्यो इन्द्रले वृत्रासुरलाई ! किन युद्ध हुन्थ्यो !
उसका अनुहार त बेग्लै भएछन्
अनुहार त अर्कै भएछन् विश्वासका
अनगिन्ती खुम्चाइ हुन्
कहीं पनि एउटा क्षणको अन्त हुन सक्छ
क्षणको क्षणमा क्षण हुन सक्छ
कहीँ निराधार एउटा घर बनेर उभिँदा हुन्छ
लामो र लामो शरीर उठाएर तग्रङ्ग माथिको माथिसम्म
घोषणा गरौँ है घोषणा !
भीड सबै भएर घोषणा गरौँ है, घोषणा गरौँ, घोषणा !
हानको बासी छ यता कतै यहाँ भनेको रे भन्छ ताओले
आजै बिहान एउटा सिङ नभएको त्यही भित्ता
हान्न आउँछ सिउर उम्रेर,
एक गोरेटो डोकाहरू,
एक उकाली भारीहरू, केही बैँसहरू ऐसेलुहरू बिहानपख हीरा बेच्छ ।
सुन्तलाको रातो बेच्छ
पैगम्बर हुन् कसैले भन्दैन
त्यसैले त कसैले भन्दैन मानिसलाई देउता हुन ।
फगत माकुराको जालोमा उनिएर पैतालहरू,
हत्केलाहरू दर्उता हुन ।
भो अब तिम्रा ती राताहरू, राताहरू बैँसहरू
भो अब तिम्रा बलेँसी, कोठाहरू, आँगनहरू
भो अब तिम्रा तातेका फलामहरू, साङ्गलीहरू
भो अब तिम्रा कल्पनाहरू, सपनाहरू
यहाँ बढी भगएका बेलामा ।
ईश्वरको दूत
खबर केही छ ।
'मर्योछ भन्छ,'
मर्योर भन्छ, पल्लो गाउँको केही यौवनहरू,
म पनि पछि गएको छु अनुहारको झण्डा बोकेर हातमा,
यसले मर्नु हुँदैन भन्दै म गएको छु सरसम्म
हरेक लाशको जुलुसमा मलामी म गएको छु
कात्रोसम्म सुँघ्दै अस्तित्वहरूको भृत्युमा ।
अचेल मलाई घिन लाग्छ मृत्युको कुरा गर्नु
जसरी तिमीसित जब तिम्रो कुरा गर्छु
अचेल मात्र घिन लाग्छ ।
मेरा जुलुसहरू कैद छन् हरेक घुम्ती र बाटोसित
बिहाको जुलुस पनि कैद छ
कैद जुलुस ।
यो मृत्यु जस्तो कैद भेडाबाख्रा चलाउने धरनमा
म विसुवियसलाई के भन्न सक्छु, आफै फुट्छ
के भन्न सकिन्छ र पाषाणका टुक्रा आफैँ झर्छन्
मेरा कैद सपना तिमीलाई दिऊँ भनेको ती
फराकिला आँखा ओडेर
घाम-घाम खिड्की छिर्छन्, व्यर्थै नाङ्गो निर्लज्ज हुन्छन्,
लाज लाग्छ, मानिसका घरमा मानिस शासक देखेर
खेतहरूमा रगत ओइरिएका छैनन् बाँझो छ,
लाज लाग्छ
खेतका अन्नहरू सुरक्षित छन् आज राजा जिउँदो छ, जवान छ
हरेकले यसलाई उत्सव गर
नत्र बाढी खडेरी आउँछ फेरि, नष्ट हुन्छ तमाम परियोजना !
एउटै वर्ष त हो मानिस जवान हुन सक्छ
उत्सवका नृत्यहरू लिएर
उत्सवको उत्सवमा एउटा पविध मानिसको रगत लिएर
जादूविनाका धर्महरू जिउँदा हुँदैनन्, जादू रक्षा गर ।
जादूविनाको राजा जिउँदो हुँदैन, राजा रक्षा गर ।
जादूबिनाका आकाशहरू चुहिन्छन् पातालसम्म, जादू रक्षा गर ।
अण्डरपैन्ट र लगौँटी भिजुञ्जेल भएका स्खलनहरू, बाँझो रक्षा गर ।
अब त सबै मिलेर गाउनपर्छ नारा गाउनुपर्छ,
चिनो हो यो मैले मिलेको तिमीसित विश्वास भएर
घरबाट धपाइसकेर राक्षस बथानहरू
आउनेहरू हामी सन्तुष्ट छौँ धपाएर
स्वरहरू धपाएर पहाडका चेपारोमा ठोकिन्जेल र फर्कुन्जेल
म घोषणा गर्छु रक्षा गर ।
अहो ! न्वाहारन हुनु बाँकी छ, यस आकाशको
फराकिलो ! समीप ! टाढा आकाशको
भित्ताको शून्यता जत्तिकै कठोर भएका छन् पर्वतले बिउँझेर
त्यही आकाशको ।
आकाशको पनि त भिन्दै गाथा छ, निहुरेर ब्यूँझने
जस्तै काठमा उनिएर हिँडिरहेका शहीद बेलाहरू,
जस्तै कराई पाकेका तेलका तातोहरू
फूलहरू फुलेन भन्नु हुँदैन बेस्याहार छन् अचेल बगैँचा जतासुकै
जतासुकै आगनमा उम्रिन्छ उचालेर धर्तीलाई चिहाउन सास बाँच्न ।
त्यो कोलाहल हरेक शब्दमा एउटा क्षण हुन्छ,
कोलाहल जेसुकैका हुन सक्छ चाहे टिटानहरू नरक परेका
चाहे देवताहरू स्वर्ग परेका
चाहे अप्सराहरू उडिरहेका
कोलाहलहरू घरका सँगसँगै बनाइदिए रे चिच्याउन्जेल
मानौँ आकाङ्छाले जीउ कन्याइरहेको जस्तो घाम लागेर
भालुले चिथोरेको हो रे यो पहाडहरूले
उभिन्छ नाइके (बाँझो जग्गा)
पाटीको छेउमा बगाएको धारा, पानी आउँछ
पानी आउँछ भन्छ घाउबाट रसाउँदै हरियो पारेर
यो उभिएको अन्धकारको एक मुठी आँखा
म भन्छु सुन, सुन, म हेर्छु ।
यता जान्छ हस्तिनापुरको बाटो भएर
एउटा युग पुष्पक विमान चढेर
सीता फर्काउँदै लङ्कादेखिन् ।
म सुनाउँछु ती नाङ्गा देवताहरू
प्रत्येक अन्डरवेयरमा झरेका अस्तित्वहरू जस्तै
र, महाशय, चोरले महान् कार्यहरू
गरेका छन् जस्तै ।
कि चट्टानहरू फोरेका छन् अग्लो ओर्लेका ढुङ्गेनी
पोथ्रा-पोथ्रा छरिदिएका छन् ।
तर त्यो ओडिनले सबलाई विजय दियो, म माया गर्छु
मानिस जहाँसुकै जित्छ चाहे त्यो पातालमा चाहे आकाशमा
थोर बिजुलीको देउता जस्तै ।
बत्थै झरेका शुक्रकीटहरू जस्तै ।
म रमाउँछु ती नाङ्गा द्वताहरू लुसिपस छोरीहरू,
जहाँ बतात्कृत छन्
जहाँ मैदानमा उम्राउन अन्नहरू, खेतका आलीहरूमा
हुन्छन् अनेकौँ यौनचर्याहरू भिज्थे माटोहरू चुहिएर
मलजल भन्दथे मेरा पुर्खाहरू देवताहरूको भय भन्दथे
थोत्रा दन्त्यकथाहरूमा कति चट्टानहरू फुटेका छन्
कति ढुङ्गेनीहरू ।