भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बिकुनिया बसाइँ लाग्यो / मोहन कोइराला

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:57, 28 जून 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= मोहन कोइराला |अनुवादक= |संग्रह= }} {{...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

आज हो भोलि
             भातै नखाएर जान्छ,
          भात खाएपछि जान्छ, गाउँको
       मायाममता सब बिर्सेर, बिकुनिया बसाइँ
    जान्छ, के सत्य हो बाँके, बर्दिया, मोरङ कता– सागरनाग
मेची–अरु जाँदा कसेलाई चिन्ता लागेको थिएन, आज चिन्ता लागेको
छ, गाउँको माझमा डोरीको खाट, बिछ्याएको छैन बरोले,
    कथावाचक जान लाग्दा गउँमा चिन्ता लागेको छ,
      अरु गए जाऊन् लोहोटा बोकेर जाओस्
         गम्छा बोकेर जाओस्, के परवार
            जमुनीलाई जो गए पनि
                  जाओस् न–
    बसाइँ सर्नु भनेकोरित्रो गाडामा हाँडाचिन्डा ओसार्नु हो
जमुनियालाई, बिकुनिया सम्झँदा रातभर निद्रा लागेन
नामर्द ! बिकुनिया गाउँम मुख देखाउन नसकेर रातिराति जाला–
हिजोअस्तिसम्म धेरैजना त्यसको खटियावरिपरि बसेका छन्,
धेरैले हत्केलाको सुर्ती टिमेका छन्,
––सुर्ती चुसेर थुकेको सुकेको छैन, भुइँमा–
अरुलाई नथुक भन्ने, आफूचाहिँ वरिपरि नै थुक्छ बिकुनिया ।

              ढाक्यो गाउँमा हल्लाको
            कुहिरो लाग्यो, बिहानबिहान
        नराम्रो ढाक्यो, नमीठो चिसोको नमीठो
      स्याँठ चल्यो खाली बयलगाडा देख्ता अब त
शङ्का लाग्ने भयो, कुनै खाली टट्टु, खाली टमटम देखे पनि
सम्झना आउने भो, मनमा द्वन्द्वैद्वन्द्व यस्तै जनमुनी उठी, भै त गयो
नहुने काम हुन लाग्यो, बिकुनियाको घरमा कामदारको भीड
  र रित्तो गाडा अड्केको देखिन लाग्यो अफवाहको बीजमा,
  आज पनि सबुत छैन खटियामा कथावाचक नआएर दुई
            दिन पो बिते पान खाने नआएर,
                      दुई दिन बिते ।

प्रशान्तपुरको बीच खटिया नओछ्याएको कति भयो कति,
बीरसिक्काको कथा, मधुमालतीको कथा, श्री ३ को कथा,
बत्तीसी, बाइसी, दन्त्यकथा, सेन, मल्ल, श्री पृथ्वीनारायको कथा
यहीँको खाटमा बसेर भनोस्,
त्यो पनि प्रशान्तपुरमा नभए बम पड्काएर
बिकुनियाको टाउकोसाउको फोडिदिनुपर्छ
अनि जाओस् न मुर्कट्टा जहाँ जानुपर्छ, बसाइँ जाओस् ।
     बनियानबाट चूनको डिबिया ननिकालेको धेरै भयो,
डिब्बाबाट चून नझिकेको धेरै भयो
हल्लामा ! आज नगए भोलि त अवश्य जानेछ
दौंतरीसँग जमुनीले कुरा गरी बिकुनियाको–
बिकुनिया अब गाउँबाट जान लाग्यो
मालतीले भनी गए जाओस् न ! कुन बडी बात बताइस्,
सालिनीले भनी मलाई मर्दको सुख मन पर्दैन जाओस्
कुनै छोरी भए पीर लाग्ने हुन्थ्यो पीर लाग्दैन
नाता चलेको भए भन किन धेरै पीर लाग्यो जमुनी

जमुनीलाई– बिकुनिया मात्र होइन,
कोही पनि मरेको र गाउँबाट कतै पनि सरेको मन पर्दैन
जमुनीको शक्ति नभएर पो !
देशको कसैलाई पनि बसाइँ सर्न दिने थिइन,
रतुुनी मसक्क हाँस्छे कसैको समर्थन र विरोध पनि गर्दिन,
बुदुनिया भन्छे– गाउँमा कुनै युवक घट्दा
मलाई कहिल्यैराम्रो लाग्दैन, सबेको हक त––
                      तेलीरामले
                     सोच्तैसोच्तैन,
                मगतराम बोल्दैन––तोरी किन्ने
               तोरी पेल्ने कामबाहेक कानु कुर्मी––
            अर्को गाउँबाट बस्न आएको बसाइँ जाने कर्म
     स्वाभाविक मान्छ, महिलालाई महिलाको कार्य हेर्न छुट छ
        पुरुषलाई पुरुषको कार्य हेर्न परपुरुषको सुधारमा
        भने महिलाले भाग लिनु हुँदैन ––नाठाको–कि त
           रखैलको आरोप लाग्छ– जहाँ छोयो प्वाल
              जहाँ उचाल चुहिने, नरम माटोमा
                 पुरुषको छ उँचो स्थान, तल
                    छायाभन्दा कतै अन्त
                      रहेनछ, नारीस्थान,
    गाउँमा आज बिदा लेख्ने अभिलेखमा पर्छ,
बिकुनियाको नाम हाँसखिुसीले जहाँ जो उडोस् या गडोस्
कसले रोक्छ जाने जान्छन्, माया मार्ने मार्छन्,
के पीर भयो ! कथा सुन्न नपाउने पीर कि ! गाउँमा उसको
कथावाचक नभएको पीर, के हो
जमुनी गर्जन्छे बमगोला देऊ, बन्दुक देऊ, म बिकुनिया ढाल्छु
बमले नरिबल फोरेझैं त्यसको शिर फोर्छु,
जहाँ जन्म्यो जहाँ कर्मे ग¥यो त्यहाँ नै मर्नुपर्छ !
त्यसको काजक्रियासमेत त्यही गाउँमा गर्नुपर्छ
कसले दिने जमुनीको हातमा बम कसले दिने–
आइमाईले चलाउँदा पड्कने स्त्रीबन्दुक कहाँ पाउने
   सुर्ती पीर कि ! गाउँको कथा पीर,
बेलाबेला हाँस्न नपाउने पीर !
यस्तै क्रम गाउँबाट थार, कुर्मीू, मैथिली, भोजपुरी गए भने !
गाउँमा औंसी–पूर्णिमा ठहराउनेहर सब हराउँछन्,
पुस्तकमा कसले तिथि झिक्छ, कसले मिति फुकाउँछ !
आज कसकामा गाडा पुग्यो,
कसकामा अड्छ, जमुनी हेर्छे !

   दिन गयो– जोर गोरुको–– गाडा आयो,
अरु कसैले सक्देन–– जमुनी अद्यावधि गर्न
कसैबाट सकेको शक्ति छैन–– देशमा चलेको रोग बसाइँसराइ रोक्न
बिस्ताबिस्तार गाडा बिकुनियाको घरमा अड्यो,
अफवाह प्रस्ट नै थियो सङ्कटको बादल प्रस्ट नै थियो,
सत्यसत्य नै भयो दैलोमा गाडा रोकिँदा

मालमत्ता असबाब एकै गाडा त हो गाउँको सम्पत्ति एकै गाडा त हो !
कथावाचकको सामान बेसी कहाँ हुन्छ गाउँमा
एक व्यक्तिले गाउँमा गढेको रामकहानी गाउँमै छुट्छ
श्रोता गाउँबाट नै हेरेर ट्वाल्लपर्छन्
माल गाडामा आफू पैदल जाने यो कथावाचक
काँच्मा गम्छा, आँखामा अश्रु, हातमा लोहोटा, लौरो,
यही त हो व्यवस्था बिदाइको
यही त हो बिदाइको स्थिति,
आँसु खसोस्–नखसोस्
मायाले कसैलाई रोक्तैन बिदाइको बाटोमा जाने जान्छ
कसैको इच्छाले कसैलाई छेक्तैन ।
     गोरीले सुनी खास महलबाट
गोरीले हेरी झ्यालबाट, र रोई,
ठूलो घरकी भएकीले कसैसँग बोल्दिन
महलमा बस्नेले––देखेकी र बुझेकी छ मात्र
गाउँको मनपर्ने कथावाचक हो बिकुनिया
घर छोडेर परदेश लागेको, दृश्य कस्तो अचम्मलाग्दो हुन्छ,
घटना घट्यो एउटा अचम्म विघटित भयो प्रशान्तपुरमा,
बखत, बल्ल कुनै अजनबी अपर्झट
बिकुनियाको घरदैलोमा रोकिई
आशा नगरेजस्तो कुनै नारी आएर रोकिई, देखिएली ।

                            माधुरी
                       पैदल आई ! हात्तीमा
                 होइन बिकुनियाको घरसम्म र पैदल
            फर्की अनि गाउँबाट बाहिर जान लागेको गाडा
           बिस्तारै खास महल डोरियो, बसाइँ जाने प्रवृत्तिमा
      माधुरीले प्रथमपल्ट हस्तक्षेप गरिन्, हल्ला भयो हर्ष भयो,
           खुसीले प्रशान्तपुरमा बिकुनियाको स्थायी बासको
                        अन्य गाउँमा बसाइँ
                          जानु पर्दैन अब !
सुर्ती–––हुन्छ, –––पात –––हुन्छ,
चपाएर बरन्डा र झ्यालबाट नथुक्न अनुरोध गरेको छ,
अमल दाँदा जता पायो नथुक्न अनुरोध गरेको छ,
अब––कतै जमुनीको एक खुसी हो खटिया––बस्ने
कथावाचक फक्र्यो, प्रशान्तपुर आउने निश्चयमा फक्र्यो !