भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पृथ्वीराज चौहान - चतुर्थ सर्ग / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:27, 29 जुलाई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=लक्ष्मीप्रसाद देवकोटा |अनुवादक= |...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


(१)
संसारभरका वीरमा हामी
रजपूत भन्दछौं ।
रजपूतभरमा चौहानहरू
रत्नमा गन्दछौं ।
पराक्रम यिनको पृथिवीभन्दा
गुजेर उठ्दछ ।
कीर्ति है यिनको सुनौला भई
संसारभरका शिखरका शिखर
सुहाई चढ्दछ ।
यिनैमा थिए पहिला कवि
विद्याका भूषण ।
विशालदेव चौहान नामका
समरजेता प्रतापी कामका
विग्रहराज भन्दछन् कोही
विद्वान्काह भारी राजामा गुणी
विगत दूषण ।

(२)
संभरका गजा तूर्कलाई जिती
म्लेच्छको पुर्‍याई त्यस बेला मिति
आर्यकी भूमि भारतलाई बनाई
गर्दथे शासन डिल्लीका जेता
कीर्तिका पोषण ।
शताब्द बाह्रौँ आधाको नेर
नडोल, जालोर, पालीलाई जिती
हिमालदेखि विन्ध्याका पर्वत
गर्दथे शासन सुन्दर थिति।
धनका घोषण ।
अजमेरमा उनले पाठशाला खोले
भविष्यसँग शिलामा बोले
कविको कीर्ति विजय भन्दा
अमर मोलको जानेर मोले
सुन्दरको पोषण ।
भारतलाई भारत बनाई छाडी
विद्या र यश, ज्ञानको बाढी
बढाउँला भनेर ।
सोमेश्वर आदि कविका रत्न
सभामा राखी
वसन्त डाकी
आर्यको फेरि उद्धार गर्ने
फल्दो र फुल्दो भारत वर्ने
जीवन बनेर ।
हामीलाई राखी धन्य र आँशु
भारत-सच्चा भावका प्यासी
छोडेर गए ती अविनाशी
स्वर्गको निम्ता द्यौताको मुखको
आखिर सुनेर ।

(३)
हा ! कठैबरा म्लेच्छले तिनका
पाठशाला उजाड़े ।
इस्लामको तरबार
लिएर आउने आत्माका गन्धा
म्लेच्छले अन्धा
सभ्यतालाई राख्ने त्यो दरबार
विद्याको उखाडे ।
आँशुले रुन्छौँ भारत जाति
विशाल हानि देखेर राति
आजको अँधेरमा ।
हा ! कठैबरा ! ती हाम्रा चरा
कीर्तिको नीदमा:
हृदयभित्र
एक आँशु थोपा दिएर रुंदा
होलान् त्यो खंडहरमा ।
 
(४)
जब है देख्यो बनाउने भारत
निर्माणको भावना ।
आर्यको सुन्दर सभ्यता पोस्ने
आर्यका भूमि आर्यकै भूमि
बनाउनलाई कम्मर कस्ने
वीरको तिर्सना ।
कहाँका कहाँका भुल्भुले आँशु
आउँछन् हरि ! आकाशबाट
छातीमा बर्सन ।
नरोई हरे ! न ठण्डा हुने
छातीमा रुँरूँ लागेर छुने
लाग्दछन् के के नजानी झन्का
भावले पर्शन ।
वीरको कीर्ति, अमरको फूर्ति
गराउँछ कहाँ भावको जगत्
भारतको दर्शन ।

(५)
उचाल भन्ने, बढाऊँ भन्ने
विजयाऽभिलाषा ।
भारतको निम्ति मर्न पाऊँ भन्ने
अर्पनको यो आशा ।
दुई दाना आँशु भए नै पनि
भिजाउन मन लाग्ने ।
भारतको बागमा कुसुम यौटा
स्वर्गको किरण पठाउने द्यौता
सँगमा गै माग्ने ।
सुन र हीरा फलाऊँ भन्ने
मालीको यो आशा ।
सधैंको भुलभुल सधैंको जलजल
पाउँदैन क्यै भाषा ।

(५)
विशालदेव बस्दछन् काही
भारतका दिलमा ।
कहिले-कहिले उठेर बोल्छन्
स्वर्पङ्के पलमा ।
साना र तिना कुराका बन्धन
स्वर्गको ज्योति खोज्ने यी हकमा
पग्लिन्छ जलमा ।
म उड्न पाइन, म खोज्न पाइन
म डुब्न पाइन, मैले क्यै ल्याइन
भन्ने यी प्रकृत विषाद उठ्छन्
सबका भावमा ।
मिथ्याको वजन गहुको हुन्छ
सत्यले छुने जब दिल रुन्छ
भारतको भित्री बिजुली लाग्ने
जिउँदो क्षणमा।

(७)
अनलदेवका तीन छोरा थिए
अग्निका अंशका ।
दुइटा जुहार पराक्रमवाला
चौहान वंशका ।
जेठाको नाम हो जगदेव
माहिला विशालदेव
सोमेश्वर नाम साहिंलाको थियो
कीर्तिका मधुका ।
राज्यको लोलुप त्यो जगदेवले
पितृलाई मारेर,
लिएको गादी खोसेर लिने
हत्यारो झारेर,
विशालदेव पराक्रमवाला
यशका रथमा ।
जब ती गए स्वर्गको बाटो
देवका पथमा ।
उनका छोरा अमर नामका
गाङ्गेय वसेथे,
सारै नै सानो बालक मानो
जानेर शासन चलाउने बने
पृथ्वीराज नामका ।
जगदेव पुत्र चतुर निकै
सकल काजकामका ।
उनैले लिए आखिरमा गादी
निर्धालाई खसाली।
उनको मृत्युपछिको कीर्ति
सोमेश्वर-उज्याली ।
डिल्ली र अजमेर दुवैका राजा
तोमर चौहान वंशका साजा
सोमेश्वर प्रतापी ।
उनका शेष सबैमा बेस
कीर्तिले छाउने सकल देश
रजपूत वीरका सुगन्धी कुसुम
जोशका खूब रापी ।
पृथिवीराज चौहान भए
समरप्रेमी विजेता थिए
भारतका सुपुत्र ।
संसारभरमा
प्रीतिको स्वरमा
उनको कीर्ति घर र घरमा
आँखा र आँखा वर र परमा
पारेर सुनाऊँ भनेर लेख्छु
चरित्र विचित्र ।
सुन्नुहोस् सज्जन ।
हृदय मजन गरेर पवित्र ।