(१)
उज्यालो भयो भारतको आत्मा
दृष्टान्त पाई अंधेरी रातमा
आकाश ता अँधेरो !
जयचन्द राजा धिक्कार छ तिम्लाई
यशका लागि धोखा भो हाम्लाई ."
म्लेच्छका सँग मिल्न पो खोज्यौ
बनेर चमेरो ।
(२)
धिक् यश तिम्रा
धिक् सारा बल
भारतको लागि ज्यान दिने वीरले
काक छोडी
वीरमुख जोडी
स्वर्गमा हाँस्दछ ।
मूर्खता तिम्रो अहङ्कार सल्की
झिलि र मिली बोक्रामा झल्की
भारत नास्दछ ।
(३)
आउला एक दिन मूर्खका पालो
बादल वैरी गगन कालो
छटा वा नीर आँखामा तिम्रा ।
शरले छेड्ला
म्लेच्छको कालो
आखिरी बेला नारायण भनी
खुलेर जाला बाक्लेको जालो
भारतको आत्मा जिस्क्यायौ तिमीले
ती आँखा तिम्रा अज्ञानमा चिम्ले
माग्ने छ जवाफ ।
अनन्तभित्र सकल भावका
पत्र छन् हेर
लेखेका धेर
मूर्खका रवाफका !
त्यसै ता कसले
झूटाका वशले
स्वर्गको बाटो, सत्यको बाटो
देख्दछ अन्धोभै !
मुटुका रस
भारतका पोखी
सत्यको तौल मरणले जोखी
आखिर साना कुवाको बाटो
भारतको मुहार
झल्कामा देखी
बहाउला तिम्रो जीवनको पानी
कुलको गुलाफलाई ।
नत्र त तिमी कलङ्गी होउला
नरकको पुछार गएर छोउला
मरणपछि एकलै रोउला
जाऊ है वीर ! म्लेच्छलाई हाँकी
पछुतो गरेर ।
हाम्रो यो दिलको दागलाई मेटी
संसार तरेर ।
(४)
यी हाम्रा हारमा
आँशुका धारा
वीरका मरण छातीका प्यारा
युग युग सम्झी छिनछिन रूँला,
यी कथा सुनी नजर धूला,
मिथ्यालाई छोडी सत्यमा हूँला,
स्वर्गको बाटो यशमा ल्यूँला
वीरको रस शब्दमा प्यूला
उठाई झण्डा भारतको ठूलो
संसार अघि
वीर हामी हूँला
अमरको आत्मा जगाइल्यूँला
सत्यका शिखर अर्पनमा छूँला
वैर र द्वेष आपसमा धूँला
जीवनको जवाफ प्राणले धूँला
अनन्त अघि शिर उँचा हूँला
महम्मदजस्ता दुश्मन हटाई
सत्यको जय उघारी ल्यूँला
धर्मको पथमा बलिदान हूँला
जोश ठूलो झिकेर ।
भारतको आत्मा उद्धार गरी
यशका कुसुम सुगन्ध भरी
अँधेरी फौजमा नदब्ने गरी
भारतको ज्योति ननिभ्ने गरी
संगठन ठूलो बँदिलो पारी
धर्मका फौज बढाई भारी
बितौँला अनेक ती ताला बारी
भारतका अगले ।
मृत्युलाई वीर ! नभन हार
घमण्डमात्र धोखाको भार
सम्बाइ दिलको गलाको हार
आँशुको तर्पणले ॥