विशिष्ट नारी / माया एन्जोलो / सुमन पोखरेल
मेरो रहस्य कहाँ चैँ लुक्या छ भनेर
छक्क पर्ने गर्छन् सुन्दर नारीहरू ।
म चिटिक्क परेकी वा
फेसन मोडेल बन्न ठिक्क हुनेगरी बनेकी छुइनँ ।
तर जब म तिनीहरूलाई आफ्ना कुरा सुनाउन थाल्दछु
मैले कुरा बनाएको भन्ठान्छन् तिनीहरू ।
म भन्ने गर्छु,
यो मेरा पाखुराले भेट्ने ठाउँमा छ
मेरा नितम्बको चौडाइमा छ,
मेरा पाइलाका लम्क्याइहरूमा छ
मेरा ओठका चालहरूमा छ ।
म नारी हुँ
विशिष्ट रूपले ।
विशिष्ट नारी, म नै हुँ ।
तिमीले सोच्न सक्ने जत्तिकै शालिनताले
पस्छु म कोठाभित्र,
पुरुषहरू भएठाउँमा पुग्छु,
तिनीहरू कि त सतर्क हुन्छन्
कि त नतमस्तक बस्दछन् ।
मौरीले रानो धेरेझैँ गरेर
मेरा वरिपरि घुम्छन् तिनीहरू ।
म भन्ने गर्छु,
यो मेरा आँखाको आगो हो,
मेरा दाँतको चमक हो,
मेरो कम्मरको लचक हो
र मेरा गोडाको उमङ्ग हो ।
म एउटी नारी हुँ
विशिष्ट रूपले ।
विशिष्ट नारी म नै हुँ ।
पुरुषहरू आफैँ छक्क छन्
तिनीहरू ममा के देख्छन् भनेर।
अनेक कोसिस गर्छन्
तर सक्दैनन् छुन तिनीहरू
मेरो भित्री रहस्यलाई ।
मैले देखाउन खोज्दा पनि
'देख्नै सकेँनौँ' भन्छन् तिनीहरू ।
म भन्ने गर्छु,
यो मेरो पिठ्यूँको सुडौलतामा छ
मेरो मुस्कानको उज्यालामा छ
मेरा उरोजको उभारमा छ
मेरो स्वभावको शालिनतामा छ
म एउटी नारी हुँ ।
विशिष्ट रूपले ।
विशिष्ट नारी, म नै हुँ ।
तिमी बुझ अब
मेरो केश किन सिँगारिएको छैन भनेर ।
म कराउँदिनँ ठूलो स्वरमा, दौडिएर हिँड्दिनँ
न त मलाई बेस्सरी चिच्याउनु नै छ ।
मलाई हिँड्दै गरेको देख्दा
गर्व गरेर हेर्छ्यौ तिमी ।
म भन्ने गर्छु,
यो मेरा पैतालाको टेकाइमा छ,
मेरा केशका घुमाइहरूमा छ
मेरा हत्केलाहरुमा छ,
मेरो ममताको गहिराइमा छ,
किनभने, म एउटी नारी हुँ
विशिष्ट रूपले ।
विशिष्ट नारी म नै हुँ ।