तिमी नहुँदा / हर्मन हेस्स / सुमन पोखरेल
ट्वाल्ल परेर हेर्छ सिराने मलाई
चिहानको ढुङ्गाले जसरी।
एक्लो हुँदा,
तिम्रा केशमा निदाउन नपाउँदा,
यति बिघ्न खल्लो होला भन्ने मलाई कहिल्यै लागेको थिएन।
म एक्लै ढल्किरहेछु रित्तो घरमा,
झुन्डिरहेको लालटिन मधुरो भयो।
मैले बिस्तारै आफ्ना हात लम्काएँ
तिम्रा हात बटुल्नलाई,
आफ्ना ताता ओठलाई बिस्तारै थिचेँ तिमीतिर,
र थकित र दुर्वलाताका साथ चुमेँ आफैँलाई।
एक्कासी ब्यूँझिएँ म त्यसपछि
चिसो रात अझै मेरो वरिपरि बढ्दै थियो।
झ्यालको तारा स्पस्ट चम्किरहेको थियो -
तिम्रा सुनौला केश कहाँ छन्
कहाँ छन् तिम्रा मधुर ओठहरू?
दु:खाइ पिउँदैछु म अहिले हरेक आनन्दमा
र बिष पिउँदैछु वाइनका हरेक प्यालामा
एक्लो हुँदा,
तिमी नभएर एक्लो हुँदा,
यति बिघ्न खल्लो होला भन्ने मलाई कहिल्यै लागेको थिएन।