एउटा सानो चिहानघारी छ,
उर्वर खेत छेउको थुम्कोमा
खिया लागेको ढोका पर्तिर,
घाँस र बुट्यानले छेकिएको
छोडिएको, बिर्सिइएको
यहुदीहरूको चिहानघारी।
न प्रार्थनाको स्वर, न त
बिलौना गरेको आवाज नै सुनिन्छ त्यहाँ
ईश्वरका लागि हैन मृतकका सम्झनामा।
हाम्रा केटाकेटीले खेलेका स्वर मात्र सुनिन्छ त्यहाँ,
चिहान खोजेको र
भेट्टिएपिच्छे जङ्गलमा च्याउ वा भूईँऐँसेलु भेट्टिएजसरी
हर्षले कराएको।
यहाँ अर्को चिहान रैछ !
यसमा हाम्री आमाकी आमाको नाम छ,
र अघिल्लो शताब्दीको मिति पनि लेख्या छ।
ई,.. यहाँ अर्को नाम रैछ, ई.. यहाँ पनि !
नाममाथि लागेका झ्याउ सफा गर्नै लाग्दा
देखेँ मैले
हत्केला खुलेको एउटा हातबाहिर निस्किएकोरहेछ चिहानबाट, कोहेनको चिहान,
तिनका औँलाहरू पवित्रता र आशिर्वादले भरिएर खुलेका थिए।
र यहाँ छेउमा अर्को चिहान रहेछ
मसिना झिँजाहरूले छोपिएको;
त्यसलाई बढारेर मिल्काउनु छ
एउटी सुन्दर र मायालु स्त्रीको अनुहारबाट
रौँ सफा गरेजसरी।