दु:खको महाकाव्य / निजार कब्बानी / सुमन पोखरेल
तिम्रो प्रेमले मलाई दु:खी हुन सिकाइदियो।
र म शदीयौंदेखि
मलाई दु:खी बनाउन सक्ने नारीको खोजीमा थिएँ,
त्यस्ती नारी, जसका अँगालोमा भँगेराजसरी लुकेर रुन सकूँ।
त्यस्ती नारी
जसले नूनको फुटेको ढिक्काझैँ टुक्राटुक्रा भएको मलाई
बटुलेर फेरि सग्लो परिदिउन्।
तिम्रो प्रेमले मलाई खराब बानी सिकाइदियो, मेरी प्रिया!
यसले मलाई रातभरिमा सयौँपल्ट कफीको कप पढ्न सिकाइदियो
बूढीबजू कहाँ गएर भाग्य देखाउन सिकाइदियो,
ज्योतिषी कहाँ धाउन सिकाइदियो।
तिम्रो प्रेमले मलाई
घर छोडेर घुम्न सिकायो
र बर्सात्का पानीका थोपामा
मोटरका बत्तीका उज्यालामा
अपरिचितहरूका पोषाकमा
तिम्रो मुहार खोज्न सिकायो।
हुँदाहुँदा तिम्रो प्रेमले मलाई
विज्ञापनका पोस्टरहरूमा समेत
तिम्रो आकृति खोज्न सिकायो।
तिम्रो प्रेमले मलाई
फिरन्ते नारीहरूले पनि आरिस गर्ने
फिरन्ते केशहरू खोज्दै
सबै अनुहार र सबै स्वर अटाएको
एउटा अनुहार, एउटा स्वर खोज्दै
घन्टौँसम्म बरालिन सिकाइदियो।
तिम्रो प्रेमले मलाई दु:खका शहरहरू घुमायो
तिमीलाई भेट्नुअघि
कहिल्यै छिरेको थिइनँ म दु:खका शहरमा ।
आँशुहरू नै मानिस हुन्
दु:खबिनाको मान्छे त मान्छेको छाया मात्र हो
भन्ने थाह थिएन मलाई ।
तिम्रो प्रेमले
मलाई एउटा सानो केटाको जस्तै व्यहोरा सिकाइदियो
घरका गाह्राहरूमा
माझीका नाउहरूमा
चर्चका घण्टीहरूमा
क्रुसिफिक्सहरूमा
खरीले कोरेर तिम्रो अनुहार बनाउन सिकाइदियो।
तिम्रो प्रेमले मलाई
प्रेमले कसरी समयको नक्सा परिवर्तन गर्दछ भन्ने बुझाइदियो।
तिम्रो प्रेमले मलाई
मैले प्रेम गर्दा पृथ्वी घुम्न छोड्दोरहेछ भन्ने बुझाइदियो।
तिम्रो प्रेमले मलाई
कहिल्यै कल्पनै नगरेका कुराहरू सिकाइदियो।
मैले केटाकेटीका लागि लेखिएका परीकथाहरू पढेँ
म जेनिसका किल्लाहरूमा पसेँ
र सुल्तानकी छोरीले मसँग बिहे गरेको कल्पना गरेँ
तलाउका पानीभन्दा कञ्चन ती आँखाहरू
अनारका फूलभन्दा रहरलाग्दा ती ओठहरू।
मैले उसलाई एउटा देवदूतलेझैँ हरण गरेर ल्याएको कल्पना गरेँ
मैले उसलाई मोती र मुगाको हार लगाइदिएको कल्पना गरेँ।
तिम्रो प्रेमले मलाई
विक्षिप्तता के हो भन्ने बुझाइदियो, मेरी प्रिया!
यसले मलाई
सुल्तानकी छोरी नआए जीवन कसरी बिताउने भन्ने सिकाइदियो।
तिम्रो प्रेमले मलाई
हरेक वस्तुमा कसरी तिमीलाई प्रेम गर्ने भन्ने सिकाइदियो।
हिउँदको नाङ्गो रुखमा
सुकेका पहेँला पातहरूमा
वर्षामा, आँधीमा
र
साँझमा हामीले फिक्का कफी खाएको सानो चिया पसलमा।
तिम्रो प्रेमले मलाई
जेसुकैमा
तिमीलाई कसरी प्रेम गर्ने भन्ने सिकाइदियो।
तिम्रो प्रेमले मलाई शरण खोज्न सिकाइदियो,
नामबिनाका होटेलमा
अनाम चर्चहरूमा र
बिना नामका क्याफेमा शरण खोज्न सिकाइदियो।
तिम्रो प्रेमले मलाई
नौला मानिसहरूको उदासीलाई रातले कसरी हुर्काउँदोरहेछ भन्ने बुझाइदियो
यसले मलाई बेरुतलाई एउटी नारीले झैँ हेर्न सिकाइदियो।
हरेक साँझ आफूसँग भएको सबैभन्दा सुन्दर कपडा लगाउनु
र अपरिचितहरूका लागि आफ्ना छातीमा अत्तर छर्केर हिँड्नुजस्ता
नारीका बानीव्यहोराको अपरिहार्यता बुझाइदियो।
तिम्रो प्रेमले मलाई नरोइकन रुन सिकाइदियो।
यसले मलाई
रौच र ह्याम्राका गल्लीहरूमा
खुट्टा काटिएको एउटा बालकजसरी
दु:ख कसरी निदाउँदोरहेछ भन्ने बुझाइदियो।
तिम्रो प्रेमले मलाई दु:खी हुन सिकाइदियो
र म शदीयौंदेखि
मलाई दु:खी बनाउन सक्ने नारीको खोजीमा थिएँ
त्यस्ती नारी, जसका अँगालोमा भँगेराजसरी लुकेर रुन सकूँ
त्यस्ती नारी, जसले
नूनको फुटेको ढिक्काझैँ टुक्राटुक्रा भएको मलाई
बटुलेर फेरि सग्लो परिदिउन्।