कहिले काहीँ / साहिर लुधियानवी / सुमन पोखरेल
कहिले काहीँ मलाई यस्तो लाग्छ
जिन्दगी तिम्रा केशको शीतल छायामा
बाँच्न पाएको भए, भाग्यशाली हुन पनि सक्थ्यो
मेरो जीवनको भाग्य भएर रहेको यो अँध्यारो
तिम्रा आँखाका उज्यालामा बिलाउन पनि सक्थ्यो।
असम्भव थिएन, पीडाहरूसँग अनभिज्ञ भएर
म तिम्रो सौन्दर्यको लावण्यमा हराइरहको हुने थिएँ
तिम्रो सुकोमल शरीर र तिम्रा प्रेममय आँखाका
सुन्दर कथाभित्रै निमग्न भइरहेको हुने थिएँ।
सारादुनियाँले कर्कश तिक्तताले बोलाए पनि मलाई
म तिम्रा ओठले माधुर्य पिइरहेको हुने थिएँ
जीवनले धम्क्याउँदै मलाई खेदिरहे पनि
म तिम्रा घना केशका छायामा लुकेरै बाँचिरहने थिएँ।
तर त्यसो हुन सकेन, र यस्तो भइनै सक्यो
तिमी छैनौ, तिमी नहुनुको दु:ख, र तिम्रो चासो पनि रहेन
बितिरहेछ जिन्दगी आफ्नै पारामा यसरी, मानौँ
यसलाई अब कसैको सहाराको खाँचो पनि रहेन
संसारभरिका पीरलाई अँगालो हालिसकेको छु
हिँडिरहेछु चिने-नचिनेका बाटा-कुबाटा हुँदै
जहाँ, जीवन-मृत्युका भयानक काँडाघारीबाट
आउँछन्, डरलाग्दा छायाहरू मलाई छोप्दै
न कुनै बाटो, न गन्तव्य, न उज्यालाको सङ्केत
शून्यमा जथाभाबी हिँडिरहेछ जिन्दगी मेरो
यही शून्यतामा कतै बिलाउनेछु म कुनै क्षण
म बुझ्दछु, मेरी प्रिया! तै पनि त्यसैत्यसै
कहिले काहीँ मलाई यस्तो लाग्छ।