यदि / रिता साञ्चियोनी / सुमन पोखरेल
यदी म अरू नै केही चिज हुन्थिएँ,
निरन्तरको कुनै मन्दध्वनी
कुनै नदी हिँड्ने बाटो
भने;
झिक्ने थिएँ
दिन र रातका परिधीभन्दा धेरै टाढा
हुस्सु र बत्तीले सिर्जेका छायामा छोपिएर
सिस्नोका काँढाहरूमा तिर्खाएका
कहिल्यै नफुल्ने चिजहरूका खोललाई ।
मांसपिण्ड र निश्वासको आरोहण गर्दे,
तिम्रो छातीको स्वास फेर्दै,
त्यसैसँगको स्वर्णीम बातमा हराउँदै,
सुम्सुम्याउने थिएँ तिम्रो सेतो कमेजलाई
आफ्ना गालाहरूले ।
हेर्ने थिएँ छेउतिर
एकैसाथ चलिरहेका धडकनहरूलाई,
नशा र अक्सिजनका बीचको बन्धन हुने थिएँ म,
रक्तकोशिकाको मूलस्थान हुने थिएँ,
जहाँबाट
कहिल्यै बाहिरन सक्ने थिएन प्रेमको रातो लय
छातीलाई एक्लै छोडेर ।
...........................................................................
(मूल इटालियनबाट मार्गारेट स्येनले गरेको अङ्ग्रेजी अनुवादबाट सुमन पोखरेलद्वारा नेपालीमा अनूदित)