बाटाभरि / एल.एन. मुकुन्दराज / सुमन पोखरेल
बाटैबाटो हिँड्दै थिएँ म
छेडिएका मेरा आफ्नै आँखा बोकेर
आफ्नो हातमा...
त्यहीँ थियो जून,
मैले बाटो हिँडुन्जेल चम्किरह्यो बिजुली
र अँध्यारोबाट जोगायो मलाई ।
छरिएको जूनेलीमा
अङ्गुरजसरी टल्किए मेरा आँखाका दानाहरू
भोकाएका पनि थिए बालक शिष्यहरू,
अङ्गुर खाने अभिष्टले तिनीहरू झुम्मिए मेरा वरिपरि
र लोभिएर हेरे
जूनको उज्यालामा टल्किरहेका मेरा आँखाका दानालाई ।
क्रुद्ध र आक्रामक थियो
मुख बाँधिएको र गलामा बेल्ट लगाएको कुकुर।
मौका खोजिरहेथ्यो
निर्दोष बालकहरूलाई पर खेद्न,
मेरा आँखाका दानाको दयालु सेन्ट्री भएको थियो त्यो;
तर तिनलाई खाएर आफ्नो भोक शान्त पार्न चाहन्थे केटाकेटीहरू
बाटाभरि दया लागिरह्यो मलाई ती कलिला नानीहरूको!
साँच्चै म डराएको थिएँ
मलाई सबैभन्दा बढी डर लगिरहेथ्यो -
बौलाहाहरूको र निद्रामा हिँड्नेहरूको;
किनभने, तन्द्रावस्थामा
अन्तैबाट जेसुकै टिप्न सक्ने थिए तिनीहरूले!
तर, केले ती केटाकेटीहरूलाई
मेरै आँखाका दाना खान मन लाग्ने गरायो?
ती आँखाका दाना बाटाभरि मेरा हातमा थिए!
मैले सधैँकै जस्ता मानिस देखेँ-
सिँगजस्तै गरेर आफ्ना टाउकामा पुर्याएका गोडाले
हिँडदै गरेका मानिसहरू,
चुल्ठोजस्तै गरी बाटेर पछाडि आफ्ना पिठ्यूँबाट तल झारेका हातले
हिँड्दै गरेका मानिसहरू,
आफ्ना घुँडा र नितम्बका बिचमा कोचेको आफ्ना नाकले हिँडदै गरेका
राँको बाल्न पनि सक्ने जस्ता देखिने मानिसहरू।
आफ्ना गोडा फैयाए ती मानिसहरूले
र आफ्ना नाकलाई जलिरहेका आफ्ना आँतमा यसरी अड्याए
मानौँ सम्पूर्ण संसारलाई सुँघ्न सक्षम छन् तिनीहरू!
सुन्दर र शुभ्र भएर उभिए तिनीहरू जूनको उज्यालामा
आफ्ना जिपर खुल्लै पारेर;
देखेर मेरो कुकुर लजायो र टाउको निहुर्यायो ।
ओहो! मैले त्यहाँ कुनै नारीलाई देखिनँ
तिनका कोमल पुष्ट जरा
मेरो पिठ्यूँको उर्वर माटोमा गाड्दै गरेका
भर्खरका केटाकेटी मात्र देखेँ
बाटाभरि।