आफ्ना घुँडालाई अँगालो मारेर निहुरिन्छु म
गुडुल्किएको सर्प कार्पेटमा
वा सोफामा
र दोहोर्याउँछु आफैँलाई
– एउटा खच्चडको स्मृति ।
वास्तवमा, खच्चड चाहिन्छ इथियोपियाका पहाडमा
जब एक महिनाभित्रको अवधिमा
विष्फोटित हुन्छ एउटा वर्ष
किनारमा आइपुग्छ जहाजीको उत्साह ।
रोमाञ्चित हुन्छन् नालीहरू मस्करमको महिनामा
बहावको स्पर्शमा
र नाच्दै मन्त्रोच्चारण गर्छन् पुरोहितहरू
हरेक चर्चका छेउमा ।
सुनको धूलो छर्किएर टल्किएजस्तै
टल्किन्छन् पहाडमा फूलहरू,
रात्रीउत्सवको भेटको खुशीलाई सम्झिएर
किनिएको एउटा सानो औँठी ।
पहाड छैनन् लण्डनमा,
भूमिगत रेलको शहर।
तैपनि,
दाँत झरेको खाली ठाउँलाई
चलाउँछ जिब्रो।
जन्म, गुँडुल्किएको रीसले चट्टानलाई थिच्यो
आत्मसमर्पण गर्नका लागि जब
र ठोक्कियो एउटा स्वच्छन्द शुक्रकीट
आकाशमुनिको मदमत्त अँध्यारो शून्यतामा ।
नदी छेउको बगैँचामा हुर्किएको बाल्यावस्था र
स्याउको बोटमुनिको पढाइ ।
के झिँगाले सघाउने छ
मेरो तिघ्राको मौनतालाई भङ्ग गर्न
र कुहिनाले हिर्काएर नयाँ दिन ल्याउनलाई?