भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अमेरिका अमेरिका... / निसार अहमद / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:05, 23 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=निसार अहमद |अनुवादक=सुमन पोखरेल |...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

जबजब तेरो ‘जीवनको अमेरिका शैली’ फस्टाएर आकाश छुन पुग्छ
मलाई एकएक गरेर फुकालिदिऊँ जस्तो हुन्छ
तेरा मान्छेका टाइ, सुट र स्कर्ट ।
स्पेनीहरूलाई, जर्मनहरूलाई, पोर्चुगेलीहरूलाई, अङ्ग्रेजहरूलाई, हब्सीहरूलाई,
समुद्री डाकाहरूलाई, हत्याराहरूलाई, व्यभिचारीहरूलाई
निकालेर रगतको पोखरीबाट
तेरा टाउकामा फ्याँकिदिऊँ र मरिमरि हाँसूँ जस्तो हुन्छ-
तर देख्छु, लिङ्कन, केनेडी र किङलाई
अनि भक्भकिन्छु, चुक्चुकाउँछु, शिर निहुर्‌याउँछु र चुप लाग्छु ।

नाजी र कम्युनिस्टलाई घोक्र्याउने निहूँमा तैँले
मानिसका जीवनलाई ध्वस्त पारेको र
जीवनभर त्यसैका बारेमा डिँग हाँक्दै हिँडेको, आदी इत्यादी
देख्छु जब
मलाई तेरो मुखमा थुकिदिएर
छेउमा बसी भोडका खान मन लाग्छ;
अनि कुरा गर्न मन लाग्छ
क्यास्ट्रो, दे गोल, हो चि मिन्ह, र नासिरसँग।
तर चिनिया र पाकिस्तानी हमलाले मेरो सम्मरणशक्ति धमिल्याइदिए
र तेरो मित्रताको हात हेर्छु
छ हजार माइल लामो, डरलाग्दो
र बन्द गर्छु आफ्नो मुख ।

जब एम्पाइर स्टेट बिल्डिङमा संस्कृतिको झण्डा फहराउँछस् तँ
म नाइटक्लब र बीचहरूमा पुरुष मर्द आँखाहरू देख्छु, जिरोजिरो सेभेनहरू
द हलिवुड बीट, द ट्विस्ट, द मेन्टल समरसाल्ट्स,
ह्यासिस, गाँजा, एल.एस.डी., कन्डम, विकृत कन्याइ
माफियाका लाउकेहरू, एक मिनेटमा पच्चीसवटाका दरले उत्पादन हुने सम्बन्दविच्छेदीहरू,
र म कराउन चाहन्छु, थपडी बजाउन चाहन्छु,
र यी सबै कुरा संसारलाई सुनाउन चाहन्छु।

लिबर्टी महोदया संसारतिर फर्किन्छिन् र तँलाई पिठ्यूँ देखाउँछिन् –
उनलाई तँतिरै फर्काइदिने थिएँ म,
तेरो हृदयको गन्देबस्ती देखाउनका लागि, काला हार्लेमहरू;
तैँले आफ्ना केटाकेटीलाई बर्थ डे गिफ्ट भनेर दिएका खेलौना बन्दुकहरू खोस्ने थिएँ म,
र त्यसको सट्टामा बाइबल, गीता र कुरान दिने थिएँ –
बिहानका तन्नाजस्ता मैलिएका तेरा मानिसका अनुहारहरूलाई
पौरस्त्य मनिषीहरूको चमक दिने थिएँ -
म एल.बी.जे.का ओठमा नेहरूगुलाब दलिदिने थिएँ
र इस्त्री लगाइदिने थिएँ उसको खुम्चिएको निधार र
अनुहारका चाउरीहरूहरूमा –

अमेरिका, अमेरिका,
जबजब तँ आफ्नो शक्तिको डिँग हाँक्छस्
तेरो कान निमोठ्दै सुनाउन मन लाग्छ मलाई
सेनालाई उडुस किच्याएझैँ किच्याएर हासिल गरेको
युवा भेटकोङ्गको विजयका बारेमा,
सत्ता पल्टाउने र यस-म्यान थपना गर्ने खेलमा भएको
तेरो सीआईएको लज्जा र हारका विषयमा,
र सागरमा झरेका चन्द्रमा उक्लिने भर्‍याङ र सेटलाइटहरूमा बारेमा।

तर त्यसपछि
तेरो गहूँको रिन, तेरा एल.पी.-फोरएट्टीहरू सम्झिन्छु म
र विदेश नीतिले सिइदिन्छ मेरा ओठ ।
तँ जस्तो शान्त देश कुनै छैन भन्ने,
र हात्ती लड्यो भने पनि घोडाभन्दा अग्लो नै हुन्छ भन्ने
कुरालाई पचाइदिन्छु म।
त्यसैले सिइदिन्छु आफ्ना ओठ, अमेरिका,
र तँ प्रति नतमस्तक हुन्छु ।

समाचारहरूमा मलाई चुपचाप निल्ने
तेरा ती सबै सम्बृद्धीप्रति
क्रोधित भएर कुरा काट्न थाल्छु म जबजब,
हाम्रो गरीबी
हाम्रो जनसङ्ख्या
हाम्रो भूगोलले
रोकिदिन्छन् मेरो जिब्रोलाई
र मलाई सिकाउँछन् धैर्यको पाठ ।