भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हे ईश्वर ! एकपल्ट नारी बनेर हेर / के. सरिफा / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:03, 23 अगस्त 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=के. सरिफा |अनुवादक=सुमन पोखरेल |स...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

यो पुरानो भान्साकोठा हो हाम्रा लागि।
यो साँघुरो पोस्टन्याटल रुम हो हाम्रा लागि।
झर्कोफर्को गर्न सक्ने त कुरै छैन।
हे ईश्वर, के एकपल्ट हेर्नु पर्दैन तिमीले
हाम्रा प्रारब्ध यी घामविहीन छिँडीहरू?

शहर गएको मेरो छोरो
प्रहरीसँगको भिडन्तमा मारियो;
युद्धमा गएका मेरा पति
रक्तरञ्जित झुत्रा कपडाका रूपमा फर्किए;
र मेरी छोरी,
असह्य लज्जाबोधले
झुन्डिएर मरी बलात्कारपछि;
मेरो पीडाको गहिराइ जान्नका लागि
हे ईश्वर,
के तिमीले नारी भएर जन्मनु पर्दैन एकपल्ट?

हातमुख जोड्ने जोहो गर्न बाहिर निस्किएँ भने
नदेखिने पवित्र हातहरूले
पर्दा पछिल्तिर तान्छन् मलाई
बन्दुक देखाउँदै;
सानो आवाज सुन्दा पनि काँम छुट्छ मलाई
पहेँली हुन्छु, सास रोकिन्छ, र
धड्किन बिर्सन्छ मुटुले
होशहवास हराउँछ मेरो;
तिमी नै भन, हे ईश्वर
कसरी बाँच्नु म?

हे ईश्वर,
वर्णन गर्न नसकिने मेरा दु:खलाई बुझ्न,
यो कस्तो हुन्छ भन्ने थाह पाउन
के एकपल्ट नारी हुनुपर्दैन तिमीले?

त्यस मान्छेले, जसका हातमा संसारको अनुबन्ध छ,
युद्धको घोषणा गरेको छ;
कसरी व्याख्या गरूँ म आफ्नो पीडाको प्रकृति
र मेरा व्याकुल क्षणहरू।

त्यसैले, के तिमीले नारी बन्नुपर्दैन एकपल्ट?