वैराग्यवल्ली / लेखनाथ पौड्याल
अम्भोदनीलगल ! शङ्कर ! नाथ ! शम्भो !
दम्भोलिझै कठिन मन् पनि क्यै नरम् भो ।
रम्भोरुतर्फ अभिलाए पनि गैह्र कम् भो
वंभोजनी हुन म पाउँ प्रभो ! स्वयम्भो ! ॥१॥
यस्ता इनी बुझिलिंदा विषवृक्ष जस्ता
सस्ता अधम् विषयरस्कन चाटि बस्ता ।
अस्ताइगो वय सबै यम आइ कस्ता
कस्ता हुँनन् दिन हरे ! भुलियेछ रस्ता ॥२॥
पैले पनि जुनी बितेछ इनै गफैले .
शैलेश ! आज तब जन्म भयो उसैले ।
अहिले पनी जनम गो विषयोत्सवैले
कैले प्रभो ! तरनु भवपार मैले ॥३॥
मेरी पियारि भनि गैकन प्यारिनेरी
हेरी मुहार् जुलम भैकन वस्तिखेरी ।
घेरो लियेछ यमले अब छैन देरी .
के रीतले म तरूँला पछि नाथ ! फेरी ॥४॥
मङ्गल र बुध गुरु भनी गरि आयु भङ्ग
दङ्गल् महाँ रहँनमा मन भो भरङ्ग ।
जङ्गल मिलोस् पशुपते ! म हुन्याछु दङ्ग
सङ्गत् गरेर मुनिको सब शोधि अङ्ग ॥५॥
लामा कठोर यमपाश परी गलामा
हा मात ! तात ! भनि रोइ कराउँदामा ।
आमा न ता न त पिता न त बन्धु रामा
कामारि एक प्रभुमात्र शरण लिनामा ॥६॥
स्वाधीन मौनअति भैकन तोडि ब्याधी
साधीन ब्रह्मकन नाथ ! गरी समाधी ।
बाँधीसक्या विषयले वय देख्छु आधी
हा धिक् महेश ! म भनाछु महापराधी ॥७॥
मन्माम लियेर अभिमान परी मगन्मा
सन्मान्य हूँ भनि भुल्याछु हरे ! म धन्मा ।
जन्माइ ज्ञान अब सङ्ग गरी सुजन्मा!
वन्मा् म बस्छु मन दी प्रभुक भजन्मा ॥८॥
घर्माल छोडि कर जोडि परी पयर्मा
फर्माइ तन्म न सबै प्रभुकै उपर्मा ।
वर् माङदछु पशुपते ! परि यो कहर्मा
डर मानि जान नपरोस् यमका शहर्मा ॥९॥
भागी कलत्रहरूदेखि भई विरागी
भागीरथीतटमहाँ बसि नित्य जागी ।
लागीपरेर प्रभुमा परमार्थ मागी
त्यागी हुन्या मयि महेश्वर ! आइलागी ॥१०॥
मानिस सङ्गकन कैदसमान जानी
पानी पियेर पनि वन् पसि डर् नमानी ।
ज्ञानी भई शिव र जीव अभेद ठानी
हा नीलकण्ठ ! गरूँला कि म जन्म हानी? ॥११॥