समर्पण / फैज अहमद फैज / सुमन पोखरेल
समर्पण
आज प्रति।
आजप्रति र
आजको दु:खप्रति।
आजको दु:ख जीवनका हराभरा वसन्तदेखि रुष्ठ छन्
पहेँला पातहरूको वन
पहेँला पातहरूको वन, जुन मेरो देश हो
दु:खहरूको समारोह, जुन मेरो देश हो।
समर्पण
कारिन्दाका उदास जिन्दगी प्रति
दुखित हृदय र बोलीहरू प्रति
हुलाकीहरू प्रति
टाँगा चलाउनेहरू प्रति
रेलका कामदारहरू प्रति
कारखानाका सोझा मजदुरहरू प्रति
सांसारिक वस्तुहरूका पूजनीय सम्राट र सृष्टी सञ्चालक प्रति ।
जसका बस्तु निर्दयीहरूले फुकाएर लगे
जसका छोरी डाकाहरूले हरेर लगे
जसको एक फोक्टो खेतको आधा बाली साहुले काटेर लगे
बाँकी रहेको सरकारले कर भनेर लग्यो
र जसका गोली शक्तिवानहरूका गोडामुनि धुजाधुजा भएका छन्
तिनीहरू प्रति।
ती दुखी आमाहरू प्रति
जसका बच्चाहरू रातरातभर रुन्छन्
र निद्राको मारमा परेका हातबाट सम्हालिँदैनन्
के भएको हो भन्दैनन्
र जति फकाउँदा पनि फकिँदैनन्।
ती सुन्दरीहरूप्रति
जसका आँखाका गुलाफ
परेला र आँखीभौँका बोटमा बिनसित्ति फुलेर
ओइलाइझरेका छन्।
ती विवाहितहरू प्रति
जसका शरीर
आडम्बरी ओछ्यानमा प्रेमविहीन सजिँदासजिँदा दिक्क भएका छन्।
र समस्त विधवाहरू प्रति।
बाटाहरू, गल्लीहरू र चोकहरू प्रति
जसका अपवित्र फोहरलाई
जून राती धाईधाई सफा गर्ने गर्छ।
पछ्यौराका रङ
चुराहरूका छन्छन्
केशको सुगन्ध
र
रहरले भरिएका छातीहरू आफ्नै पसिनामा जल्दाको गन्ध
जसको छायामा मिसिएर खलबल गर्ने गर्छन्।
ती पढ्नेहरू प्रति
जो दुन्दुभी र विशुद्ध दु:खका ढोकाहरूमा
किताब र कलमका माग लिएर हात फैलाउँदै पुगे
तर फर्किएर घर आएनन्।
ती निष्काम अबोधहरू प्रति
जो निश्छलताका साथ
आफ्नो सानो दीयोमा ज्वालाको ज्योति लिएर त्यहाँ पुगे
जहाँ बाँडिरहेका थिए घटाटोपहरू अन्त्यविहीन रातका छाया।
ती कठीनता प्रति
जसका छातीमा आगतको उज्यालाका मोतीहरू
झ्यालखानाको उद्धिग्न रातको छटपटाइमा
जलेर खरानी भए।
भविष्यका ती असल मानवहरू प्रति
जो फूलको सुगन्धझैँ
आफ्नो कुरामा आफैँ निमग्न छन् ।
...................................................................
इस कविता का मूल उर्दू/हिंदी पढ़ने के लिए यहाँ क्लिक करें