रोदन (श्लोक ४५ देखि ५५) / नरेन्द्रप्रसाद कुमाईँ
(४५)
विरही मनमा आगो बल्छ,
त्यसले सारा जीवन पोल्छ,
गर्न अनलको ज्वाला शान्त
दृगमा आँशु ढलपल गर्छ ।
(४६)
निर्मल बाल हृदय-कमल यो
प्रेम-सुधा पिई विकसित अब भो,
वियोगको तर आँधी चल्दा
सारा टुक्रा-टुक्रा भइगो ।
(४७)
छिया-छिया यो हृदय बनायौ,
किन्तु प्रेम यो अझतक गर्छ,
अवसर पाए सत्य प्रेमको
सुधा वहाँको पोखरी भर्छ ।
(४८)
सपना मात्रै सारा जग यो,
धोका मनको आँखाको यो,
हात समाती मसंग बस्ने
अधिको, सपना हैन त को हो?
(४९)
इच्छामाफिक सब चल्थ्यो त
जीवन भर लौ सपना नै होस्,
हात समाती नगीच प्रेयसि
बसून् सँधै ती मेल सँधै होस् ।
(५०)
मिलन नै हाम्रो नहुँदो हो त
प्रेम कहाँ यो हुन्थ्यो होला,
हृदय कि मेरो नहुँदो हो त
प्रेम भए पनि भुल्थें हुँला!
(५१)
किन्तु सँगमा पापी मन छ
भुल्नु पनि भो अब ता गाहै,
जीवनमा अह! सल्बल गर्छ
नभुलूँ त पनि प्रेमले साहै।
(५२)
विरह-व्यथाको आगोले आज
हृदय कस्तरी पोलिरहेछ,
सहदयको मधुरो बोलीको
निशदिन आशामा जलिरहेछ ।
(५३)
दुःखमा पनि अब दु:ख छैन
सुख नै जब भो दुःखको भार,
मधु शंकामा जल्नुभन्दा
अमावश्या नै बेस हजार ।
(५४)
त्यो दुःखमा पनि एउटा सुख छ,
औ त्यसैमा मेरो प्राण,
विश्वासको चिराग सानो
गर्छ ज्योतिर्मय यो जीवन ।
(५५)
जीवन-जगमा तम नै छाओस्
सरिता-तटमा चकोर गाओस्
दिन नआओस्, होस रात अनन्त
रातमै जीवन रहने मस्त ।