रोदन (श्लोक १११ देखि १२१) / नरेन्द्रप्रसाद कुमाईँ
(१११)
सुन्दर उनको प्यारो वाहु
यसरी किन त्यो मकनै डाक्छ,
केवल त्यो ता भ्रम हो तरूको
शाखाकन त्यो मारूत हाँक्छ ।
(११२)
मधुऋतु फेरि जगमा आयो,
प्यारो मेरो सारा जग त्यो
सुन्दरतामा मोह बसेको
गर्दछ मोहित जसले मन यो!
(११३)
सुखको मधु उपवन गर्छ
सुन्दरताको कलिले शोभन;
भ्रमरा त्यसमा यादको घुम्दा
जग गुञ्जायमान् गर्छ ‘रोदन’!
(११४)
सुन्दरतामा दु:ख छ भारी
दु:खमा अह! सुखको बास,
दुःखमा सुख, दुःख सुन्दरतामा
तब सुन्दरता प्रिय भो खास ।
(११५)
नीलम नभमा हिमकर हाँस्छ
छोई बदलीको चाँदी धर्मा
उनको मधुरो हाँसो हाँस्छ,
मोतीको उ गर्दै वर्षा ।
(११६)
नीलो जल शशिको माझ
सुन्दर सेतो नलिनी फुल्छ
अनन्तको त्यो किनारा छोई
पूर्णशशि अह! मनोरम खुल्छ !
(११७)
औ, मेरो जीवनमा आज
यही त प्राण पलपल भर्छ;
विस्मृतिले जब मूर्छा पर्छ
यही त यादको जल छर्कन्छ ।
(११८)
किन यो रोदन गर्छस् फेरि
हाँसोको लौ अंचल तानी?
पुछ त्यो आँशु अहा! अज्ञानी,
विश्व त यै हो! यस्तै जानी।
(११९)
दुःख-सुखको यो दूरको क्रीड़ा
मिलिकन बन्दछ जीवन जलको
दुइमा एउटा नभए फेरि
कथा अधुरो रहने ‘रण’-को ।
(१२०)
चल्छ समयको आँधी फेरि
दुःखको बदली सारा भाग्छ;
सुखको भानु नभमा फेरि
आफ्नो रथ अनि अघि उ हाँक्छ ।
(१२१)
नीलो नभमा जून त्यो फुल्छ,
माला दीपको तारक बाल्छ;
चल्दा मृदुल समीरण सुस्त
कोकिल खुशीले बोल्नथाल्छ ।