वियोगिनीविलाप / लेखनाथ पौड्याल
बानी खराब लिइ पापकि डर् नमानी ।
तानी धनू कुसुमबाण ! भयेर मानी ।
सानो जनानिउपरी शर हानि हानी
हानी गरी सकिदियौ भरिलो. जवानी ॥१॥
मालीक साथ नहुँदा विरहाग्नि पाली,
फाली शरीरभरका गहना फुकाली ।
खाली पडेकि छु जहाँ मन क्यै समाली
जाली नह्वौन भगवन् ! दिउँला म गाली ॥२॥
सारा शरीरभरि छन् पसिनाकि धारा
हा रामचन्द्र ! भनि गर्दछु धेर् पुकारा ।
आराम् कतै छइन देख्छु दिशा अँध्यारा ..
नाराज नह्वौन कुसुमायुध ! हे पियारा ॥३॥
खानापिना दुर भयो मनमा छ ताना
गाना लहड्हरू पनि ती भया बिराना ।
चानासरी शरिर भो शर लागि नाना
हा नाथ् ! यसै मरिगना बिचरी जनाना ॥४॥
बोली मधूर गरी कोइलि: पापि बोली
पोलीदिंदा हृदय बानी बडो छुचोली ।
खोली बस्याकि छ असह्य भयो र चोली
भोली म हिंड्छु रतिनाथ ! लिइ एक झोली ॥५॥
भारी लडाकि बलवान् अनि भै तयारी
नारी अनाथ् बिचरिमा शर धेर् बजारी ।
पारी हजार टुकुरा हृदय बिदारी
मारी लियौ कुसुमनायक ! ज्यान हमारी ॥६॥
नन्दन्समान् वन पनी समझन्छु फन्द
चन्दन पनी मकन हुन्न कसै पसन्द ।
दन्दन् गरी शरिर पोल्दछ वायु मन्द
कन्दर्पजी ! शरकि वृष्टि गराउ बन्द ॥७॥
नालायकी नसमझी लिइ मुर्ख चाला
'कालाग्निझै गरी रिसाइ भएर काला ।
मालासरी शर धसी अति वेगवाला
बालाउपर् कुसुमबाण ! गयौ नि हाला ॥८॥
बाला पनी ति करदेखि भया निकाला
ज्वालाझभी पवन पोल्दछ खुश्बुवाला ।
मालाहरू पनि हरे ! अति विखवाला
काला ती सर्पसरि छन् कहुँ क्या हवाला ॥६॥
के लीनलाई भगवान् ! भइ भारि झेली
मेली गरी हृदयमा पसि खेलि खेलि ।
चेलीसमान् मकन धेर् शरजाल जेली
हेलीदियो । विपदसागरमा धकेली ॥१०॥
जोरी म ह्वैन प्रभुकि भनि हात जोरी
छोरीसमान भनि विन्ति गर्याँा यसोरी ।
सो रीत नसम्झि धनुमा शर जोरी जोरी
फोरीदियौ हृदय यो तिमी हौ अघोरी ॥११॥
प्रभु ! अहिले म छु यकली वसुला जब् काख नायक ली ।
अनि तिम्रा शर सब ती झिकुँला भइ खुप विलासवती ॥१२॥
खलकन मलसरि मनमा नमानि विनती म गर्छ सज्जनमा ।
कमि गमि अरू सब रमिता बिताइ दिनु दिन् गरी गजब कविता ।।१३।।