कल्पना / बालकृष्ण सम
साट्न पाइए कस्तो हुन्थ्यो सपनासित बिपना,
विपनासित सपना !
बजार लाग्दथ्यो पृथ्वीको एक कुनाबाट अर्कोसम्मन्
सुखी बन्दथे धनका भरियादेखिन् हर नङ्गासम्मन्
मत्त अजीर्ण रोगीदेखिन् भोका जीर्ण रोगीसम्मन्
विद्वान् असन्तोषीदेखिन् मूर्ख सन्तोषीसम्मन् ।
भर्न पाइए कस्तो हुन्थ्यो बिपनाका विष फालेर
त्यो घडा सपनामा लाग्ने अमृतधारा थापेर ।
साट्न पाइए कस्तो हुन्थ्यो सपनासित बिपना,
बिपनासित सपना !
बिपनाका यी अबोला मतिमा सपनाको बोल्ने शक्ति
आवेश हुन्थे, कल्पनाको नाम रहन्थ्यो सद्भक्ति
बिपनाका साहसले मेट्थे सपनाका धक कातरपन
निराशावादी विपनाका सब आशावादी बन्थे झन् ।
सपनाका अमरत्वकलासित मरण साटी विपनाका
भेट्न पाइए कस्तो हुन्थ्यो मानिस स्मतिका पानाका !
साट्न पाइए कस्तो हुन्थ्यो सपनासित बिपना,
बिपनासित सपना !
सुदिन बटुल्दै दुर्दिन साट्दै सपनाका अनि बिपनाका
विपनाको यो भूमिमाथि स्वर्ग बसाली सपनाका
सपनाका सब शान्तिहरूसित विपनाका संग्राम
विपनाका सब शान्तिहरूसित सपनाका संग्राम
साट्न पाइए बस्ने मन अनि भइरहँदो हो संसारमा
नत्र नथाक्ला सार खोज्दै को यस्तो निस्सार संसारमा
औँला भाँच्तै मृत्यु गनी गनी दाह्रीले बरखी बार्दै !
बाँचिरहने इच्छा लेला को नातिको लाश हेर्दै !
लथालिङ्ग छ संसार, थान्को लाउन कत्ति भियाइएन
जाने दिन भने वर वर आयो, व्यर्थ नबोली सकिएन—
साटन पाइए कस्तो हन्थ्यो सपनासित बिपना,
बिपनासित सपना !
शारदा, १३।३, आषाढ २००४