तिमी नहुँदा / अशेष मल्ल
किन खुम्चन्छ भित्ताको आयतन
तिमी नहुँदा
यसरी खुम्चन्छ कि लाग्छ
निसासिएर आफै खुम्चन्छु
आयतनसँगै भित्ताको
तिमी नहुँदा
समय अड्किन्छ घडीमा
र हिड्दैन रात
मानौं रोकिएको छ टक्क
एउटा विन्दुमा यो रात
र हिड्दैन कोठाको झ्यालबाट
टोलाएका आँखाहरु टोलाइरहेछन्
एक टक बाहिरको आकाश हेर्दै
तिमी नहुँदा किन बादल पनि सर्दैन
र अड्किन्छ जून पनि भित्तामा
तिमी नहुँदा
तिमी बाहेक आउँदैन आँखामा
कुनै अर्काे दृश्य
चिम्लदा आखाँभित्र आकृति आकृति
केवल तिमी
तिमीबाहेक सायद
सारा चिजहरु मिथ्या हुन्
शून्य सायद शून्य समय
हर क्षणको दृश्यमा तिमी
लाग्छ म छैन मभित्र
खोज्नुपर्छ
आफैलाई मैले
तिमी नहुँदा
भिज्छ सिरानी रातरातभर
चिसाचिसा मनहरुले
सपनाको खडेरी भोगेर आँखा
एकतमास
पलङको निस्तो बगरमा
एक्लै
अँध्यारो छामेर सिरानी
केवल चिसाचिसा रातरातभर
जागा बस्छु
तिमी नहुँदा
तिम्रो अनुपस्थितिले
भएङ्कर पीडा
जन्माउँदो रहेछ आफूभित्र
मानौं कतै दुखिरहेको घाउझै
चरहर्याइरहन्छ
छामेर सारा मनहरु
सिथिल मानौ कुनै निष्क्रिय मुढाझै म
केवल दुख्नुहरुको जङ्गलमा
दुखेको छ
अहिले कोठामा
तिमी नहुँदा
भएङ्कर शून्य रिक्तताले चिथोरिरहेछ
चिथोर्न बाँकी केही नहुँदोरहेछ मनमा
र सायद
यो भन्दा पीडा केही छैन
केही छैन सिवाय रिक्तता
हरक्षण हर ठाउँ केवल रिक्तता
किन रिक्त हुन्छु म आफूभित्र
तिमी नहुँदा
अधुरो हुँदोरहेछु म
तिम्रो अनुपस्थितिमा
मानौँ अपाङ्ग जीवन भोग्न नसकिने
एउटा पीडा
ठिक यतिखेर
छातीमा एउटा अधुरो तस्विर
टाँगिएको छ
र म त्यस्को किनारमा छु
यतिखेर यहाँ
तिमी नहुँदा
खोज्दो रहेछु बारम्बार आफैलाई
छामेर एउटा चिसो स्पर्श
लाग्दोरहेछ म यहीँ छु
कि छैन
कि कहाँ छु
आफैलाई छामेर
म यहीँ छु यहीँ
कि छैन
कि कहाँ छु
सत्य त के हो भने
म नहुँदो रहेछु मभित्र
तिमी नहुँदा ।