वेदनाको बजार भयो / सुमन पोखरेल
पहिले त मुटु छेड्ने गरी, गहिरो प्रहार भयो
पछि त्यही हेराइ नै, मेरो बाँच्ने आधार भयो
चैतजस्तै उजाड थिएँ, बाँचेको थिएँ मरेकोझैँ
मनभित्र मुस्कुरायौ, जीवन भयो वहार भयो
खुसी छु म तिमी जितेर, तिमी हर्षित किन छ्यौ ?
दुवैले जित्ने खेल थियो, कि कतै मेरो हार भयो ?
छलिएर जोगिइरहेथेँ, जोगिएर हिँडिरहेथेँ
यो मन कसरी अचानक, तिम्रो शिकार भयो ?
नभेट्या भए तिमीलाई, के नै काम पाउनेथेँ र ?
तिम्रै प्रीतका चोट गन्नु, मेरो मुख्य रोजगार भयो
तिम्रो मन उस्तो हो वा, मेरो बुझाइ गलत थियो?
बल्दाबल्दैको प्रेमको आगो कसरी अँगार भयो ?
तिमीले लगाएको चोट, यति गहिरो बसेछ मनमा
बोकेर हिँड्दाहिँड्दै, त्यही चोटसँग प्यार भयो
कसरी तिमी अपर्झट, आइपुग्यौ यो मनभित्र
तिम्रो प्रवेशपछि, यो मनको छाप्रो दरबार भयो
बिना कुनै कारण मैले, गरेको हुँ प्रेम तिमीलाई
दुखित छु, मेरो प्रेम, शायद तिमीलाई भार भयो
बिहान तिमी, दिउसो तिमी, साँझ तिमी, रात तिमी
तिम्रो याद आकाश मेरो, तिम्रो याद संसार भयो
नयाँ जोश, नयाँ जाँगर, आयो मेरो अँगालोमा
तिम्रो प्रेमको फलस्वरूप, जिन्दगीनै उपहार भयो
तिम्रो यादले मुटु पोल्छ, तिम्रै यादले शीतल गर्छ
तिम्रो प्रेमको अनुभूति, नबुझिने झङ्कार भयो
तिमी थियौ पल्लो किनार, ओल्लो तीर म बग्दैथेँ
हाम्रो वहाव मिसिएर, कति प्रेमिल मझधार भयो
तिमी कतै दुःखी हुँदा, दुख्न थाल्छ यो मुटु मेरो
तिम्रो-मेरो मुटु यसरी, कुनबेला एकाकार भयो ?
बसिरहेँ तिमीलाई पर्खी दिनरात साँझबिहान
आइनपुग्दै जान्छु भन्छ्यौ, केको यस्तो हतार भयो ?
कहिलेको के कहिलेको के तिम्रा कुरा बुझ्न कठीन
तिम्रै वाणीले घाउ लागेथ्यो, तिम्रै बोली उपचार भयो
उत्कण्ठा लिई आउँछन् मान्छे घाउ छोडी जान्छन्
सुमन ! तेरो छाती सधैँ किन वेदनाको बजार भयो