सिउन सकिन्न फाटेको मन झन् फाट्छ / हरिभक्त कटुवाल
यसपल्टको जाडो कसकसले कसरी छेल्ने हुन् कुन्नि !
आफ्नो त दुखेको एउटा मन छ– बिहानैपिच्छे भत्किने
खै अचेल एक बैँस पनि मज्जाले हाँसेको कोही देखिँदैन
कहाँकहाँ उठाऊँ जताततै पोखिएको यो आकाशलाई ?
सपनाको बिस्कुन हालेर आँखाहरूको आँगनमा
कति पर्खन सक्छ कोही कसैलाई ?
सिउन सकिन्न फाटेको मन झन् फाट्छ ।
यहाँ हतार छ
कसैलाई कसैको गमलामा फुल्ने हतार
हतार छ जुरेलीलाई– यसै हिउँदमा कम्लाउने हतार
रङरोगन फेरेर सकिने भए फर्काउन बैँस
त्यसो पनि त गर्न हुन्थ्यो ।
कोसित सापट लिएर उत्कण्ठा अब कुन चौतारी कुरूँ ?
एक भाका हाल्नै नपाई पिरतीको
खै बैँस कसरी काटिएछ ?
थाहै नपाई कुत्कुती
यो मन कहाँ, कोसित साटिएछ ?
यसपल्ट जाडोको पहिलो सिरेटोले छुँदा
मैले छामिहेरेँ ओछ्यानमा तिमीलाई यताउता
चिसो अनुपस्थिति एक अँगालो यो वर्षलाई पनि तिमी पुग्यौ
खै कहिले आउने तिमी–
पोल्टाभरि एक घान न्यानो घाम बोकेर ?
००००