भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एउटी स्वास्नी मान्छेको अन्तर्वार्ता / पारिजात

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:28, 4 सितम्बर 2024 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= पारिजात |अनुवादक= |संग्रह= }} {{KKCatKavita}}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

ज्यू,
काम गरेको मात्र थाहा छ
दुःख पाएको मात्र थाहा छ
फाटेको चोलो र जडाउरी गुनिउँ
लगाएको मात्र थाहा छ
जोवन सोध्नुभएको?
त्यो त हजुर आएको, गएकै थाहा छैन।

खै, जान्ने सुन्नेले भनेको
मेरो जोवन त जिम्मुवालको ऊ त्यो
गहुँबारीमा सप्रिइसक्यो रे!
उसैको करेसाबारीको सयपत्रीमा फुलिसक्यो रे!
खै, कुन्नि कस्तो अनौठो
मेरो आँखा र ओठमा नफुलेर मेरो जोवन
अर्काको सम्पत्तिमा फुल्ने रे!
के भन्नुभयो, निकै हिस्सी परेकी छु रे?
ज्यू, त्यो दहको पानीमा हेर्दा
त्यस्तै त्यस्तै लागेको थियो
तर के भरपर्दो हुन्छ र
पानीमुनिको छाया।

ढाँटेकी भए हजुरको मासु खाने
मेरी बास्सै!
लोग्नेलाई त मैले जग्गेमा मात्र देखेकी
टोपीमा लालुपातेको फूल घुसारेर
निधारमा तीनवटा सितारा टाँसेर
गालामा अलि अलि लाली घसेर
आएको मेरो अधबैँसे दुल्हा
आरन जस्तै अँध्यारो र
खलाँती जस्तै धुस्रो थियो
ए, हाँस्नु भएको हजुर त!
यसको गोडा पखालेको पानी खानू साँझ बिहान
यो तेरो देउता हो भनी
बूढी बज्यैले भन्दा
घुम्टोभित्र म रोएकी
खै, कसरी देखाऊँ
गालामा आँसुको डोब बस्दैन हजूर
पहरामा खहरेको डोब बसेजस्तो!

ज्यू, माइत त सात खोला सात डाँडा उता छ
मैले बालखकालमा देखेकी सपनाजस्तै
मेरो मुटुभित्रै भएर पनि कति कति टाढा।

जै–जन्म सोध्नुभएको?
ज्यू इनै दुई छोरा
च्याँसे र पुन्टे, डेढ वर्षको फरक छ
ढाँटेको भए यो आगो हातैमा छ हजूर।
यो च्याँसे
मुखियाको घर बनाउने ढुङ्गा बोक्दा–बोक्दै पाएकी
नाम्लो त थाप्लामै थियो गाँठे
फरियामा पोको पारेर ल्याएँ
छाप्रोमा साल–नाल काटेँ
फेरि मुखियाको धान गोड्दा गोड्दै हिलोमै जन्मियो यो पुन्टे
हिलोमा जन्मिनेहरूलाई
कहाँ लेखेको हुँदोरहेछ र सिमलको भुवा?
ज्यू, हुर्काउँदैछु हजूर, हुर्काउँदैछु
नाङ्गै–भुतुङ्गै
जनावरहरू जस्तै
कुकुर र सुँगुरका बच्चाहरू जस्तै।

ज्यू, माया लाग्छ यै बूढा कामीको
गरिबीभन्दा अर्को छनौट नै के छ र जीवनमा?
म पनि त चाया र कलेटीले
तर्साउने जस्तै भइसकेँ
के म स्वास्नीमान्छे जस्ती छु र?
ल फेरि हाँस्नु भयो हजूर त!
जीवनको अर्थ
ज्यू, केही बुझ्या छैन
मेरो कामीको रङ र फलामको रङ
एउटै छ हजूर!
च्याँसे–पुन्टेको छालाको रङ र बाटोको धुलोको रङ
एउटा छ,
म पनि त हजूर फोहोर, मैला, ध्वाँसो जस्तै छु
कामी रुने होइन कहिल्यै
उसका पसिनाको रङ
र मेरो आँसुको रङ
एउटै छ हजूर!
ज्यू, ज्यू काम गर्नेहरूले खान पाउनुपर्छ
भन्ने कुरा
भर्खर–भर्खर पो थाहा पाउन लागेकी छु, हजुर!