यो अबिराम शून्यतामा
म सुनिरहेछु तिम्रो पदचाप
र एकैचोटि देखिरहेछु हजारौँ हातहरूका
अजस्र औँलाहरू
जो उठिरहेछन् यो शताब्दीकै उज्यालोको केन्द्रतिर
अथाह अन्धकारबिच
म शून्यमा बिलाइसकेँ भन्ने ठानेर
तिनले जो तिमीमाथि हुकुमत अदा गरिरहेछन्
तिमी त दिनपर दिन,
देख्दैछु
टर्चजस्तै दिव्यताको केन्द्र भएर
मानिसका हृदयमा केन्द्रित भइरहेछौ !
असरफ ! तिम्रो उज्यालोको विस्तारले
म यहाँ आत्मसम्मानित भएकी छु !
राक्षसहरू मैले आँखैले देखेँ
तिमीले त्यसअघि दन्त्यकथामा सुनेको हुनुपर्छ
अहिले ती तिम्रा अक्षरको आलोकले फतक्क गलेर
तिम्रो आवाज बन्द गर्न चाहन्छन्
तर तिनलाई थाह हुनुपर्ने
तिम्रा अक्षरहरू पढ्नसक्ने आँखाहरू
रेहानाले त्यहीँ छोडेर आएकी छ
सुन्दैछु तिम्रा जीवनदायी आवाजहरू
त्यो यहाँसम्म गुन्जिसकेको छ
काँपिरहेछ इसामसिहको धड्कन
तिमीलाई मृत्युदण्डको सजायँ सुनाउने कानुन विरुद्ध
उनले नै जारी गरेका हुन् मानवताको अध्यादेश
नयाँ रूप धारण गरेका यी राक्षसहरूलाई के थाह
संसारमा मानवताका निम्ति कति खुदाहरूले बलिदान दिए ?
मैले भोगेका तमाम अपमान, यातना र मृत्युदण्ड विरुद्ध
तिमी इसामसिह
अवतरित छौ सीमातीत मानिसका ढुकढुकीमा !
तिमी निस्फिक्री त्यो रातो आगोमा
नयाँ आकार बनाइरहेछौ अक्षरको
उमारिहेछौ नयाँ नयाँ जीवनदायी रङहरू
सताब्दीदेखिको अँध्यारोमा
लुकाएर तीखा सिङ र खुनी आँखा
ती जो धर्मलाई अपव्याख्या गर्दैछन्
र ढाँट्दैछन् खुदालाई
ती स्वयं आत्महत्या गर्दैछन्
पश्चात्ताप गर्ने आँट समेत गुमाएका तिनीहरू
के मार्छन् तिमीलाई ?
तिमी त खुदाका दूत हौ
जो मानिसका आवाजहरू शब्दका ईश्वरमार्फत
हृदयको यो सुख्खा मरूभूमिदेखि धेरै परपरसम्म फैलाइसक्यौ
धर्मभीरूहरूले छिचोल्न नसकेको धर्मको खास अर्थ हुन् तिनीहरू
सम्वेदना र मानवताविहीन तिनका खुनी आँखा
अहिले त्यस पुस्तकबाट बाहिरिएका छन्
धर्तीको सबैभन्दा तातो ठाउँमा
तिनले बनाएका छन् आत्मसम्मानीहरूको बधशाला
तिम्रा नरम हातले लेखेका यी फूलजस्ता जीवनका
स्वतन्त्रताका गीतहरूलाई बुर्काले छोपेर
ती तिमीलाई मार्न चाहन्छन्
तर तिनीहरूले बिर्से
मेरो अन्तिम इच्छा
मैले मेरो आँखा मेरी आमाको नाममा त्यहीँ छोडेर आएकी थिएँ
र अन्तिम सङ्कल्प गरेकी थिएँ—
“म ईश्वरको अदालतमा यी अन्यायका विरुद्ध मुद्धा जाहेरी गर्नेछु !”
प्रिय असरफ !
म मृत्युदण्डपछि खुदाको अदालतमा छु
र मेरो सजायँको बर्खिलाफ
खुदा यतिबेला ठीक तिम्रो चेतनामा अवतरित छ !
०००