देशलाई सम्झदा / दीपक शम्चू
यो देशको तस्बिर
छातीमा टाँसेर हिँड्ने
माया मुटुमा साँचेर बाँच्ने
लाखौँ युवाहरूका मोतीझैँ सुन्दर पसिना
अन्तै कतै गएर फुल्छ ।
सकिएपछि मोहक
ढाकरभरि अभाव आएर
बिसाउँछ मझेरीमा |
नदी चुपचाप बगाउँछ हिमालको उचाइ
बाटो निर्लज्ज डोऱ्याउँछ देश सजिएको गहना
यही माटाको संस्कृतिमा फुलेको सुवास पनि
उडाइलगेर हावाले बिलाइदिन्छ मस्भूमिमा ।
सडक यो देशको होइन
त्यहीँ बाटो भएर जाने
मन्दिर, विद्यालय, अस्पताल
यस देशका आफ्ना हुन सकेनन् ।
कुनै
सङ्गीतकारले भरेको गीतको धुन
कलाकारले सजाएको सौन्दर्य
देश डोऱ्याउनेले झटारो हानेको भाषण
र मैले वाचन गरेको कविता समेत
यही माटोमा रमाउन सकेनन् ।
पैँचो जीवन भोगेर
राष्ट्रिय चेत जगाउँछ जनता
हात थापेर राष्ट्रियता भिर्छ बजेट |
कति पढूँ
अखबारहरूमा देश खुम्चिएको समाचार ?
०००