म अलिकति कतै रहिरहन चाहन्छु / मौन आवाज
तिमीले प्रेम नगरे पनि
तिमीलाई म प्रेम गरिरहन चाहन्छु ।
ओइलिएर झरे पनि फूलहरू
म फूल झैं फूलिरहन चाहन्छु ।
पहाड नै त होइन 
तर / म पहाड जस्तै उभिरहन चाहन्छु ।
बग्दाबग्दै सुक्दै जाने खहरे
झर्दाझर्दै विलाई जाने हिउँका कणहरू 
हुस्सु / कुहिरो र शीतका थोपाहरू जस्तै 
म पनि त्यस्तै केही भईरहन चाहन्छु ।
अपरिचित नदीको अविराम प्रवाह जस्तै
कालजयी गीतको कुनै अन्तरा जस्तै
हृदय छुने संगीतको कुनै संवेदना जस्तै
म पनि त्यस्तै केही हुन चाहन्छु ।
मलाई थाहा छ 
म क्षणिक हावाको क्षणिक स्पर्श हुँ !
मलाई थाहा छ 
म बितिजाने समयको एकक्षण हुँ / एक पल हुँ !
मलाई थाहा छ 
म केही पनि होइन / म कोहि पनि होइन !
यद्यपि 
म यो धर्तीको माटोमा केहि भइरहन चाहन्छु ।
मलाई थाहा छ 
म नष्ट हुनेछु 
तर / म कुनै न कुनै प्राणीको अवशेष भइरहन चाहन्छु ।
म नरहे पनि 
घाम / जून र ताराहरू रहिरहने छ ।
म सकिए पनि 
पृथ्वीको कुनै कक्षमा
घामको कुनै किरणमा
जूनको कुनै उज्यालोमा 
ताराहरूको कुनै समूहमा रहिरहन चाहन्छु ।
ब्रम्हाण्डको विशाल अस्तित्वभित्र 
म अलिकति कतै रहिरहन चाहन्छु !
०००
	
	