म निस्केको हुँ यात्रामा / मौन आवाज
म निस्केको हुँ यात्रामा !
जतिबेला 
विचारको जङ्गलमा आगो लागेको थियो
र खरानी भएको थियो दर्शन र सिद्धान्तहरू !
जतिबेला 
अक्षरहरूको आकाशमा नउदाउँदै काव्य 
शब्द भस्म भएको थियो !
जतिबेला 
प्रतिरोधको स्वर बोकेर क्याबिनेट छिरेको कविता 
नाराहरूको भयंकर कोलाजभित्र पसेर नष्ट भएको थियो !
जतिबेला 
आन्दोलनले मूलबाटो बिर्सेको थियो 
र दिशाहिन भएको थियो यात्रा !
त्यति नै बेला 
म  निस्केको हुँ आत्म यात्रामा !
न्याय शास्त्रले भ्रष्टहरूलाई काखमा राखेर 
सत्ता चुसाएको दिन 
म निस्केको हुँ अनन्त यात्रामा !
त्यही क्षण त्यागेको हुँ मैले मूलमार्ग 
र आइपुगेको हुँ सहायक मार्गमा !
पतित व्यवस्थाको योनिले निलेपछि 
सर्वश्व चेतना 
नामर्द विचारको परम्परागत पार्टी परित्याग गर्दै 
मैले घोषणा गरेको हुँ आफैँलाई नपुंसक कार्यकर्ता  
र हिँडेको हुँ यात्रामा  !
अघोषित दर्शनको चपेटामा परेर 
म बुद्ध हुन निस्केको होइन 
न बेहोसी नशाको उन्मादमा क्रान्तिकारी हुन निस्केको हुँ 
न अलेक्जेन्डर या पृथ्वीनारायण हुन निस्केको हुँ यात्रामा !
म स्तालिनको सालिक बनाउन निस्केको होइन 
मलाई थाहा छ 
स्खलनको पीडा 
थाहा छ 
लेनिनको दस्तावेज 
र थाहा छ मार्क्सवादको कार्यनीति !
म पलायन हुन यात्रामा निस्केको होइन 
तथापि 
समयको करेसाबारीमा भेटिएपछि 
आफ्नै अपरिचित लास -
म निस्केको हुँ आफ्नै हत्यारा खोज्न !
०००
	
	