भूपिलाई चिठी / महेश मास्के
प्रत्येक औंसीको कालो रातलाई लत्याउँदै 
जब मलाई भोरका किरणहरूले स्पर्श गर्थे 
म तिमीलाई सलामी दिन्थें 
तिमीलाई पनि एक नयाँ बिहानी मानेर
अनि
प्रत्येक पूर्णको रातमा 
तिमीलाई स्वयं एक जून मान्थें 
जसका शीतल किरणहरूले 
लाखौं शोषित पीडीतहरूको मनमा 
जागरण र संघर्षको चेतना ल्याउनेछ भन्ने विश्वास लिएर
तर
अहिले तिमीलाई यो चिठ्ठी लेख्न बस्दा 
मेरो कोठाको मौनता 
परिणीत भएको छ कुनै रक्सि भट्टीको कोलाहलमा 
अनेकौं थरीका स्वरहरूले गुञ्जायमान भएर 
कुनै थकित, कुनै निराश, कुनै क्रोधित र कुनै व्यंग्यात्मक 
मेरो अगाडि उभिन आएका छन्
लाखौं झुत्रेझाम्र हरू
आफ्ना चाउरिएका पेटहरू देखाउँदै
असंख्य जवान विधवाहरू 
आफ्ना कोमल तनमा दुनियाँको कामुक आँखाले पोलेका
काला काला डामहरू देखाउँदै 
अनि गिन्ती नै गर्न नसकिने बालकहरू
"छातीभरि बोकेका क्षयका किटाणुहरू देखाउँदै" 
यी सब मिलेर आक्रोशले चिच्याइरहेका छन् 
र दुःखित भएर रोइरहेका छन्
हो त नि ! 
को रूदैन होला
बेरै आशा र विश्वास राखेर हुर्काएको छोराले वास्ता नगर्दा 
धेरै स्नेह र माया दिएको 
भाइले जथाभावी बोल्दा 
प्रत्येक अन्याय र दमनको विरूद्ध 
संघर्ष गर्ने विश्वास राखेको दाजुले विश्वासघात गर्दा 
तर 
अब त तिमीलाई यसको कुनै वास्ता छैन होला 
किनकि 
तिमी आफ्नो साँघुरो गल्लीको चोकमा रहेको घरबाट निस्केर 
नयाँ सडकको "रेस्टुरेन्ट कम बार" मा भ्रमण गर्दैछौं 
अनि गरीवहरूको "प्यूरिफाइड" गरेको रगत 
"भ्याट सिक्सटीनाइन" को बोतलबाट 
घुर्की भर्दै आनन्द लिन्छौ 
"अब त तिमीलाई सत्य लाग्छ होला
 आफ्नो देशको इतिहास
अब त गर्न मन लाग्दैन होला तिमीलाई 
आफ्नै रगतको उपहास 
अब त तिमी देख्दैनौ होला 
बीच बाटामा नंग्याइएकी सीता 
अनि तिनको करूण क्रन्दन 
किनकि
तिमी अन्धा भैसकेका छौ 
रक्सीका बोतलहरूमा लठ्ठिएर 
तिमी बहिरा भैसकेका छौ 
चाँदीका सिक्का हरू कानमा बजाएर
त्यसैले
र त्यसैले भूपी 
मलाई यो भन्न कर लाग्छ
"हल्लै हल्लाको देशमा 
तिमी पनि एक हल्लै रहेछौ 
तिम्रो सिंह गर्जनको 
पानीमा फालिएको अगुल्टाको 
"छ्वाँय्य" भन्दा बढी वजन रहेनछ
तिम्रो उचाईको 
अग्लो टाकुरामा उम्र को च्याउको भन्दा बढ्ता महत्व रहेनछ 
तिमी "आफ्नो अस्तित्व हराएको 
पुरानो क्यारमबोर्डको गोटी हौ 
एक खेलाडी माथि आश्रित 
एक स्ट्राइकरद्वारा सञ्चालित"
तर हो यदि तिमीमा अझै चेतना छ भने 
खरानीको थुप्रोभित्र रहेको 
अंगारको टुक्रा जति नै किन नहोस् 
उठाऊ कलम, गर आफ्ना भूलहरूको प्रायश्चित 
भित्रै हृदयदेखि 
हराएको विश्वास पाउन 
कठीन मेहेनत त गर्नै पर्छ 
यदि होइन, सकार्दैनौ तिमी आफ्ना भूलहरू 
फगत कल्पनाको महल बनाई 
हुन्छौ रक्सीका बोतलमा यदि भने 
तिमी मात्र एक हल्ला हौ 
एउटा खेलाडीमाथि आश्रित
एक स्ट्राइकरद्वारा संचालित
मानिस कम बढ़ता गोटी हौं ।
०००
काठमाडौं
प्रकाशित "जनमानस" अङ्क ३
 
	
	

