भर्नाबारी र बुनुको बाबु / अबीर खालिङ
बुझेको छैन भर्नाबारी र बुनुको बाबुले
मेक इन इण्डिया र डिजिटल इण्डियाको कुरा।
हरेक बिहान
जब साइरन बज्छ
इच्छाहरू बन्दकी पर्छन् र
विवशताको रागमा जिन्दगीको सरगम मिसिन्छ।
जान्दैन राजधानीले कस्तो सपना देख्छ
राजधानीको सपनामा
कतिमाना उसको सपना होला?
बेड टीको स्वादसँग
जब राजधानीले आङ तन्काउँछ
भर्नाबारी र बुनुको बाबुको आङ भने बेसकन दुख्छ।
दिनभरिको मेहेनत र थकाइले
थिलथिलिएको रोगी शरीरले
चाख्न पाएको छैन जिन्दगीको स्वाद यो ठाउँमा।
नारा आउँछ
जुलुस आउँछ
मेनिफेस्टो आउँछ
तर जीवन तंग्राउने औषधि आउँदैन।
भोकको आगो निभाउने योजनाको दमकल आउँदैन?
खुट्टामा दासत्वको सांगलो बाँधिएका धेर श्रापित सिसिफसरू
भोक र रोगको खर्क चरिरहन्छन्।
क्रूसीफाइ येसु यो विपत्तिको कलवेरी चहारिरहन्छन्।
उन्मुक्तिको ढयांग्रो बजाउँदै
विसन्चो यो ठाउँको खड्को काट्न आउँदैन कुनै बिजुवा।
भर्नाबारी र बुनुको बाबुलाई
जिन्दगी भनेको
एउटा श्राप मात्र छ।