अगेनाको डिलमा एक साँझ / राजकुमार के. सी.
निकै लामो यात्रापछि
जतिबेला एउटा यस्तै साँझ
म तिमीकहाँ आएको थिएँ
चुपचाप अगेनाको डिलमा बसेर
झिक्राहरू सल्काउँदै थियौ
दिनभर बालुवा बोकेर थाकेको तिम्रो शरीर
रोसी खोलाको चिसो बतास
अनि, असङ्ख्य पीडाका भेलहरूमा हेलिँदाहेलिँदै
तिमी बिलकुल निर्झर भइसकेका थियौ
शब्दविहीन
भावविहीन
तिम्रा आँखाहरूले कुनै भयावह क्षणको सङ्केत गरिरहेका थिए ।
हावाको झोक्काले जति खेर तिम्रो अगेनाको आगो निभाउँथ्यो
तिमी त्यसलाई पुनः बाल्ने प्रयत्न गथ्र्यौ
जसरी आफ्नो अगाडि एक्कासि मलाई देखेर तिमी झस्कियौ
र केही बोलेनौ
ठीक त्यही क्षण निभायो फेरि बगरको
चिसो बतासले तिम्रो अगेनाको आगो
फेरि सल्कायौ
र मलाई बस्ने इसारा गर्यौ
निकै घडी रात बितेपछि
जब तिमीसँग बिदा भएर निस्किएँ
मलाई हेरेर तिमी टोलाइरह्रयौ
धरै समयपछि त्यस्तै एउटा साँझ
म आज फेरि तिमीकहाँ आएको छु
तिमी त्यहीँ छौ
र त्यहीँ अगेनाको डिलमा बसेर
झिक्राहरू बाल्ने कोसिस गर्दै छौ
अहिले पनि
बगरका ढुङ्गाहरूझैँ निष्प्राण देखिन्छौ
त्यो साँझ जतिबेला
तिम्रो अगेनामा बसेर सँगै आगो बालेका थियौँ
बिर्सिएका थिएनौ तिमीले त्यो क्षण
अलिकति खुसी लिएर आउने
प्रतीक्षामा तिमी झिक्राहरू सल्काइरहेका थियौ
म आएँ त्यस्तै साँझ
तर रित्ता बिलकुल रित्ता हातहरू लिएर