भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
आखिरमा / सविता गौतम दाहाल
Kavita Kosh से
१.
हराएन,
कैंयौं पटक कैंयौं ठाउँमा
एक्लै छोड्दापनि
भीडहरूमा छोडें
घुइचोहरूमा छोडें
कुम्भ मेलाहरूमा छोडें
रातको अन्धकारमा छोडें
पाइतालाको छाप पछ्याउदै
विहानीको प्रतिक्षामा
चिसो छिंडीमा रात विताउँदै
सोध्दै खोज्दै
आखिरमा,
‘म’ नेर आइपुग्यो
तिम्रो सम्झना ।
२.
सारा मसीका भाँडाहरू घोप्ट्याएँ
कोरेर कैयौं कलमका नीभहरू भाँचे
वालुवाको थुप्रोले पुरी दिएँ
रातो माटो पोती दिएँ
कमेरो माटोले लिपी दिएँ
धातुले कुँदेको रहेछ
मसिको रंग सूर्यको
तापले उडेर गयो
वालुवा हावाले उडायो
माटोहरू एकै वर्षातमा वगिहाले
आखिरमा,
जसै गरेपनि मेट्न सकिन
तिम्रो आकृति ।