भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
आदमको विन्ती अनि सिमोन द बोभाहरू / मनप्रसाद सुब्बा
Kavita Kosh से
प्राण जाने बेलामा
आदमले माथि आकासतिर हेरेर भन्योः
‘प्रभु ! मेरो यौटा आखिरी विन्ती –
सृष्टिको अन्त्यपछि
फेरि अर्को सृष्टिमा
इभलाई मेरो करङबाट होइन
तर हामी दुइलाई एकैसाथ सृष्टि गरिदेऊ ।‘
त्यै क्षण
परमसत्ताबाट आकाशवाणी भयो :
‘तथास्तु !
सृष्टिमा नसोचेको पुरुष-हैकमको भारी पैताला
अचाक्ली बजिसक्यो
अब अर्को सृष्टिमा
इभको देब्रे करङबाट आदमको सृष्टि सोच्दैछु ।‘
त्यसै बेला तर
आकाशवाणीको आवाजलाई पनि ढाकेर
एक हूल सिमोन द बोभाहरूको कोरस सुनिन्छ ---
‘हामी यो सृष्टिको अन्त्य चाहँदैनौँ
हामी सङ्घर्ष उचालेर उठ्छौँ
हाम्रो स्वरको सुरमा आदम-स्वरहरू पनि थपेर
कोरसको नयाँ आकास उठाउँछौँ
करङको कुरा छोडिदिऊँ
हृदयको कुरा गरौँ ..’