आदिम आँसु / गीता त्रिपाठी
बिउँझेका छैनन् देवताहरू अझै
निस्तब्ध छन् सृष्टिका सारा उमङ्गहरू
मन्दिर छेउको दोबाटोमा
अलमल्ल उभिएको छ
मजस्तै एक्लो मेरो बिहानी
गाउँने रहर नमेटिँदै
आधैबाटोमा सकिएको गीत
सम्झी सम्झी रोइरहेछ अधबैँसे पुजारी रुख
दोष-दक्षिणाको खिचातानी वरिपरि
आफ्नै विवशताका पतकरहरूमाझ
इतिहासजस्तै पुरिएर
लुकाइरहेछ ऊ दुई थोपा आदिम आँसु
फूलमाथि हाँसिरहेछ सडक
आधा जून रोइरहेछ आकाश
बतास छामिरहेछ ढुकढुकी
म आफै छुट्याउन सक्दिन
यो बतासमा कहाँनिर छ मेरो प्राण !
सुनसान पथमा दिग्भ्रमित छु म
मानिसहरूको पदचाप खोजिरहेछु
नदीझैँ बगेर एक बिहान समय
मसँग मागिरहेछ बस्तीको जगमग
भेट्न सक्दिनँ मेरै भागको उमङ्ग म
पाइलामा मिसिँदैनन् सहयात्री धूनहरू
वसन्तमा न्याउली भएर
चुपचाप हिँडिरहेछ यो बिहान
आँधी आएको घरको किनारैकिनार
पातझैँ पहेँलिएर खसेको छ समय
अझै निद्रामै छन् मन्दिरमा देवताहरू !