ईश्वरले लालमोहर लगाए / कुभेम्पु / सुमन पोखरेल
ईश्वरले लालमोहर लगाए
र हेरिरह्यो भावविभोर कवि!
आकाशको फैलाहट - क्यानभास,
छरिएका हिमाली चुचुरा- पृष्ठभूमि
बाक्ला जङ्गलहरूले घेरिएका दृष्यावली, र
गर्वका साथ नागबेली परेको सुन्दर तुङ्गा नदी!
ईश्वरले आफ्नो हस्ताक्षर गरे
र हेरिरह्यो भावविभोर कविले ।
बहिरहे नदीहरू, उभिइरहे रुख
र नीलो रङ्गले मुस्काइरह्यो आकाश
समय मौन बसिरह्यो पहाडमाथि, र
रमाउँदै उफ्रिरहे चराहरू!
पानी चम्किन्छ फूलले सिँगारिएको घाममुनि
चट्टानलाई बिस्तारै पानी छ्याप्दछन् छालहरू
दुबै किनारका सुनौला बालुवाका थुम्काले
छालमा नुहाइदिन्छन् कविको हृदयलाई ।
अप्रतीम आनन्दले भरिएको रहरलाग्दो संसार,
मधुर चुम्बनको स्वाद अनुभूत गर्यो हृदयले
क्षितिजको चौघेराबाट निस्किँएर
पखेटा फरफराउँदै तल झरे तिनीहरू!
जङ्गलभित्र, र हिमालमा
तैरिए, डुबुल्की मारे र उडे तिनीहरू
आकाशमा चित्र कोर्दै गरेका, सेता बकुल्लाको एक पङ्ति
कति मनोहर दृष्य, माथि त्यति माथि ।
चित्रहरूमा नभेटिने रेखा,
र काव्यमा नदेखिने छन्द,
आश्चार्य, रमझम र अप्रतीम सौन्दर्ययुक्त
कलाकारिता र लोभलाग्दो मेलले!
जब कौशलयुक्त सिर्जनाको एक्लो साक्षीले
उड्दै गरेका सेता बकुल्लाको झुण्डका
वेगशील बुनोटलाई पैँचो लिएर
हस्ताक्षर गर्छ घोषणाको लिखतमा
संसार विस्मित हुन्छ विशाल श्रद्धाले!
ईश्वरले लालमोहर लगाए
भावविभोर कविले हेरिरह्यो !