उदयलहरी श्लोक ९१ - १०० / ज्ञानदिल दास
संगत जति छन् साथमा रहन्छन्॥
सतगुरू स्वामी परंपद कहिन्छन्॥
सुरथ लगाउ सुन सब भाई॥
कलिमा दर्सन् छैन ब्रम्ह चोलालाई॥९१॥
कालिका ब्रम्ह जति सतमा गिर्याका॥
दसै काम छोडी क्रोधमा फिर्याका॥
ब्रह्माचोला जति छन् बडो निन्दा गर्न्या॥
हलो छ पियारो बेद न पर्न्या॥९२॥
भक्ति निन्दा छोडि आफ्नु कर्म गर्नु॥
दस कर्म छोडि हलो माथि धर्नु॥
काँधमा हलोजुवा गोरू छन् काँहाँ॥
वडा हुँ हामी भन्छन् नरलोक माँहाँ॥९३॥
वेद परे पनि मुक्ति काँहाँ पाउँछन्॥
छ डोरा जनै पनि व्यार्थ किन लाउँछन्॥
ब्रम्हचोला जति छन् निन्दै पछि लाग्छन्॥
सतलोक धाम देषि परपरे भाग्छन्॥९४॥
ब्रह्मबाट सत्ते गिर्यो कलि जुग माँहाँ
कलिका ब्रह्म जति साउनका राती॥
भक्तिजनले पायो झलमल बाती ॥९५॥
सराप् पर्यो ब्रम्हलाई कलिका बाहुन्॥
भन्दा नसुन्ने जतासुकै जाउन्॥
निन्दा गर्यो भनौला निन्दा कैले हुन्थ्यो॥
सत्तेवादी ब्रम्हलाई पापले किन छुन्थ्यो॥९६॥
गुरु कृपा नाउँ छ ज्ञानदिल दास॥
सबैले गर्नु परंपदका आस॥
सिरमा धनी छन् सतगुरु स्वामी॥
धनीका सामुन्न्ये लडिकै छौँ हामी॥९७॥
चार युग शशिधरले भक्ति गरि आया॥
भाग्गेमानी जतिले हिरारत्न पाया॥
भक्तिजन जतिले सुरथ लगाया॥
आफ्ना भक्ति जति छन् गर्छन् सहाय॥९८॥
गर्न सक्ने पुरुषलाई सिद्धि पनि दिन्छन्॥
क्रोधी पापी जतिको हुरमत लिन्छन्॥
अहंकारी पापी अब कस्व गर्छौ॥
दयाछैन मनमा कस्व गरी तर्छौ॥९९॥
दया विना पापले जन्म हुन्छ फेरी॥
स्व बुझी ज्ञानदिलले बाँध्यो फकिरी॥
धनीका घरमा सुनमिल्यो तोला॥
बाँधियो फकिरी अब जस्व होला॥१००॥