उनी भेटिदा / सविता गौतम दाहाल
वगैचा आफै संगमरमरको कलात्मक मेचनेर स्तब्ध
एकटक निहुरिएकी उनलाई नियालि रहेछ
फूलहरु
फूलहरु
नुहेका उनकै सम्मानमा
उनकै स्पर्श पाउन चाँदनी पृथ्वी झरेजस्तो
मग्न उनी, कुनै रोचक क्षण पुगेकि होलिन !
लिएर पुष्प सुकोमल हातमा
अनुपम सौंन्दर्य चुहाई रहेकी
न हतारिएर कुनै चरी उडेकी छ उनको अनुहारमा
न सिंगारिएर बसेकि छ कुनै तृष्णा
अतिव स्थिर ! दिव्य उनको बसाई ।
सुन्दर ओठमा न मुस्कान झरेको छ
मृगनयनी आखाँबाट न अश्रू खसेको छ
यो आदिम पहिरन
कति सुहाएको हो उनलाई
गलाको हार, वसन्त वहार
केहीले नछोइएकी उनी
कति शान्त ! कति स्निग्ध !
दुधमा नुहाएकी हुनकि
हिमालबाट भर्खर ओर्लिएकी
सुनकेशरी उनका केशमा अल्झिए
प्राकृतिक पृष्ठभमि, जहाँ म हराएझैं भए ।
शिरमा सादगीको यो सफलता
यो कलाको कुन रुपमा उनी मलाई भेटिइन
मैले संसार भूले, आफलाई भूले ।