भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

उपहार / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आमालाई के मन पर्छ ?
सोध्दै-नसोधी
हाँगाभरिको फूल लाछेर
मैले,
उहाँलाई
जन्मदिनको उपहार पठाएँ ।
 
मेरो उपहारमा
थाहै भएन,
किन
सुक्दैगए आमाका समयहरू
ओइलिँदै गए,
फूलजस्ता सपनाहरू ।
  
सधैँसधैँ आमा
सबेरै झरेका फूलहरू बटुलेर
देउतालाई चढाउनुहुन्थ्यो,
शायद देउतालाई पनि
चुँढेको फूल मन पर्दैनथ्यो,
आमालाई जस्तै ।
 
आमा भन्नुहुन्थ्यो-
प्रत्येक जन्मदिनमा
फूल रोप,
बत्ती बाल र
जीवनको सलेदोमा,
थपिरहू उत्साहको तेल ।
 
यसपालिको जन्मदिनमा
उपहार दिनेछु आमालाई
पश्चात्तापको अञ्जुलीमा
भरेर ती उमेरभरिका सपनाहरू,
र उमारेर
ढुकढुकीभरिको
विश्वासले
ती असहङ्ख्य फूलहरू ।