भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एक अँजुली उज्यालो ! / एस्पी कोइराला

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

शकुनिको पासालाई
उज्यालो पटक्कै मन पर्दैन
धृतराष्ट्रको आँखालाई
उज्यालो फिटिक्कै मन पर्दैन
द्वापर युगको उज्यालोले त
कलियुगे पापी पेट झन् भर्दैन
यसैले त मलाई अचेल किन हो कुन्नि
उज्यालोसितको भेट मन पर्दैन
शायद, यो सोचेर कि -
अँध्यारो नभएको भए
उज्यालोले कसको गर्भबाट जन्म लिन्थी -

अन्धकार आकाशको भग्नावशेष मुनि
हत्केलामा मैनबत्तीको दियालो बोकेर
एकसुरमा एक्लै हिँडिरहेका
ए, भीष्म पितामह !
तिमीलाई मन परे पनि नपरे पनि
हामीमाथि अलिकति दयादृष्टि दान गरेर
कृपया
हत्केलाको मैनबत्ती झयाप्प निभाइदेऊ
न्रि्रा आए पनि नआए पनि
बाणको शैय्यामाथि तिमी चुपचाप निदाइदेऊ
र सञ्जयका आँखाहरूलाई
चमेरो बनाएर चारैतिर फिंजाइदेऊ
जहाँ-
एक हूल अँध्यारोहरूले
एक जमात अँध्यार्नीहरूलाई
सुहागरातका लागि मनाउन सकून्
र हस्तिनापुरको मैदानमा
एक अँजुली उज्यालो जन्माउन सकून् ।