ओ सुजाता ! / मनप्रसाद सुब्बा
आज फेरि वैशाखी पूर्णिमाको जूनलाई
दश वर्षअघि देखेजस्तै देख्न खोजेर नियालें l
जून झुल्किने त्यो डाँडा उही हो
पर्व उही हो
साँझको गाढापन र मौसम पनि उस्ताउस्तै हुन् l
तर म चैं उही र उस्तै रहन सकिनँ l
त्यसैले, दश वर्षअघिको
पाउजु छम्छम् बज्ने वैशाखी पङ्क्तिहरू
ऐले लेख्न सकिराखेको छुइनँ l
+
बितेको दश वर्षमा दशवटा टाउको उम्रेर
म त्रेता युगको रावण जस्तो भइसकेकोछु l
तर ‘जस्तो’ मात्रै l उस्तै चैं होइन नि !
नत्र त फेरि एकपल्ट रामायणको महाख्यान लेखिनेथ्यो
त्यो महाख्यानको नायकलाई ईश्वरीय महानायक बनाउनसक्ने
त्यो महाखलनायक म कहाँ हूँ र जोसित कुनै महायोजना होस् !
यी मेरा दशवटा टाउकाहरू त
दशवटा भिन्दाभिन्दै कुराहरू एकैसाथ सोचेर
आपस्तमा बाझिरहन्छन्
यी दशवटा टाउकामा भएका बीसवटा आँखाले हेरेर
म यौटै कुरोलाई बीस थरिको देख्छु
अनि बीस X बीस प्रकारका अर्थहरू निकाल्छु...
माझमा परेका दुइवटा टाउकाहरू भने
दुइ विपरित विश्वाससित
केन्द्रको सेन्ट्रीपिटल शक्ति मुट्ठ्याउँदै
अरूलाई हकडग गर्ने होडमा छन् l
तर दुइ छेउका अरू टाउकाहरू स्वतन्त्र कराउँदैछन् –
‘तिमीहरू दुवैका कुराहरू हामी अब मान्दैनौं l’
यी मेरा दशवटा टाउकाहरू ऐले
आ-आफ्नै सेलफोन या त ट्याबसित
इन्टरनेट सन्जालमा फैलिँदै गइरहेका छन् –
प्लेटोदेखि पोर्नोसाइट्सम्म...
+
ओ सुजाता !
आज वैशाखी पूर्णिमाको अवसरमा
म माइक्रोवेभ टावरको फेदमा बसिराखेको छु
मलाई खीर होइन
खिचडी खुवाऊ !!