खुशी / दिनेश अधिकारी
बल्लतल्ल
नौ महिनापछि
बाकसमा बन्द भएर
अरबबाट
उसको लास आइपुगेको छ
र, लास आइपुगेको कुराले
उत्सवजस्तो
उसकी स्वास्नी र छोराछोरीसँगै
आफन्तहरुका बीचमा
खुशीयाली छाएको छ !
आङभरि ठिहिर्या उँदै उनीहरुको जेठ बित्यो
आँखाहरु सुकाउँदै साउन/भदौ बित्यो
भतभती आँत पोल्दै पुस/माघ बित्यो
मर्ने त मर्यो् मर्योम
ज्यूँदा भनिएका उनीहरु
मर्नु र बाँच्नुको दोसाँधमा
सास फेरिरहे
मान्छे मरेको घरमा केको उत्सव?
फेरि पनि चाडबाड आउँदा
लास सद्गत नगरेसम्म जुठो बार्नु पर्दैन भनेर
उनीहरुको सँवेदनामाथि
पुरेतहरुले निरन्तर आक्रमण गरिरहे
र, उनीहरु
नबाँचेजस्तै बाँचिरहे
नमरेजस्तै मरिरहे
ढुक्क भएको छ
अब लास आइपुगेको छ
लास झकाउनका लागि
अझै क-कसको घर चाहर्नुपर्ने हो भन्ने दिक्दारी सकिएको छ
अझै कति कानुनी जन्जालहरु बेहोर्नुपर्ला भन्ने
आशङ्का मेटिएको छ
अझ कति ऋण काड्नु पर्ला भन्ने पीर सकिएको छ
ढुक्क भएको छ उनीहरुलाई
अब किरिया गर्न पाइने भएको छ
अब जुठो बार्न पाइने भएको छ
अव चाडबाड मान्न वा नमान्न पनि पाइने भएको छ
के देशलाई यो कुरा खबर छ?
बल्लतल्ल
नौ महिनापछि
बाकसमा बन्द भएर
अरबबाट उसको लास आइपुगेको छ
र, लास आइपुगेको कुराले
उत्सवजस्तो
उसकी स्वास्नी र छोराछोरीसँगै
आफन्तहरु बीचमा
खुशीयाली छाएको छ !