घरभित्र बस / रेमिका थापा
कोरस
तिमीले कतिचोटि भनेकै हौ, मर्द त बारको घोँचा हो
र बाघका हजार गोठ हुन्छन्।
लौ न आज भन, कुन बार र गोठमा बस्न रोजेका छौ तिमीले ?
घरलाई एउटा गोठ भन्यौ भने बाँच्न सहज नहोला तर
घरलाई घर नै मान्यौ भने बाँच्न गाह्रो नहोला, कि कसो भन्छौ होला ?
जे होस्,घरभित्र बसौँला, हामी हाम्रा घरजमलाई नयाँ पाराले फेरि सजाँउला
फेरि सपनाहरू बुनौँला
बाचा बन्धनहरू दोहोरयाउँला
कसम र अधुरा भाकलहरू बुझौँला
भोक तिर्खाको लामो इतिहास बाँचौला ।
तर तिमी चौबिस घन्टा घरभित्र बस्ने प्राणी भएपछि
मलाई घरदेखि निस्की जा त नभनौला
क
दस बाइ पन्द्रह फिटको कोठामा खुम्चेको संसारमा
म बच्चाहरूको लिखा जुम्रा टिपुँला,
तिमीले मेरा अनुहारका चाया र चाउरीहरू गनिदिन्छौ होला
सोधौला तिमीले कि यतिका छोराछोरी कसरी हुर्कायौ नि?
तिम्रा साडी र चोलीका रङ यति उदास किन छन्?
तिमी किन चाँडै खस्किएकी, खाइनौ क्या ? ढुङ्रगी मुन्द्री नि ?
कति अँइचो पैँचो छन्, कति ऋण र सापटी छन्?
हाम्रा केटा केटीहरू यस्ता नासपिटे किन छन्?
कति वर्ष भो माइत नगएकी ?
यो पाला जोगाड गरूँम्ला है मैचाङ - तिमी अचानक देववाक्यजस्तो बोल्छौ होला !
अनि त म तिमलाई धेरै खान जोड गरुम्ला
कि तिमीले पनि ‘आफूलाई नि क्यै त राख’ भनिदिन्छौ होला !
म एकातिरबाट ढुक्क छु अहिले किनभने तिम्रा फोहोरी साथीहरूको अड्डा यहाँ छैन।
तिनीहरूको तास जूवाको कसिङ्गर छैन
तिनीहरूले सुर्ती र गाँजाले खुइलेको कैलो गिजा देखाएर ठट्यौली गरेको सुन्नु परेको छैन
तिनीहरूको गोटी र सुपारी किन्न मेरा नानीहरूले टाढाको दोकान जान परेको छैन
आइनो साइनोको आडमा मेरो मजेत्रोको सप्को छिचोलेर ज्यानभित्रै छिर्न खोज्ने तिनीहरूका भेदी आँखाहरू छैनन्।
थोरभन्दा थोर म यति त आशा गर्छु, अब बाँकी रहेको यस एकान्तबासमा
लामो बेलासम्म कुर्नुपर्ने सरकारी राशन लिन यसपाला तिमीले मलाई पालो दिन्छौ होला
राहत सामाग्री पाउने लहरमा उभिन तिमी अघि नै पुगिसकेको हुन्छौ होला
कोइला, दाउरा, गुइँठा, माटो, गोबर, घासलेट तिमीले बुझिलिन्छौ होला
मेरो तिरो फारोको गणित गुन्न सक्छौ होला
टोलका सानातिना दलाल चम्चे ठेकेदारहरूसँग जुझ्न तिमी नै अघि सरेको हुनेछौ
घर मालिकको कामुक नजरलाई सलक्कै चिसो बनाइदिनेछौ
तिमी त कम्मरमा खुकुरी र छातीमा माया भिरेर हामीमाझ बस्नेछौ।
थोरैमा थोर म यति त आशा गर्नै सक्छु,
पानी कलको लामो लाइनमा घन्टौँ उभिरहँदा
पब्लिक टोइलेटको लाइनमा नमिठो अबेला हुदाँ
तिमी मलाई जो सुकैसँग आँखा लाउने छैनौ
रक्सी नभेटेको नाममा, नून भूटुन नपुगेको नाममा, आधा पेट खानु परेको नाममा
मलाई बाइफाली भन्दै लात्तीले भकुर्ने छैनौ ,चिम्टाले डाम्ने छैनौ
एकान्तलाई झन झन भयानक पार्दै तिमी मलाई ब्वाँसोले झैँ घूरेर हेर्ने छैनौ,
आँखैले उनेर मेरो देह च्यातच्युत पार्ने छैनौ
र बन्द कोठालाई गोसखान पार्दै मलाई पटक पटक बलात्कार गर्ने छैनौ !
ख
उफ! तिमी किन छिनछिनमा लाशको सङ्ख्या गनिरहेका छौ ?
स्पानिसफ्लु, स्वाइनफ्लु, अनिकाल, विश्वयुद्ध इत्यादि घटनाका हाडखोर किन खोजिरहेछौ ?
डुब्दै गएको मानव सभ्यताको मसानघाट मझेरीमा पसारेर बसेका छौ
घरि राजतन्त्र, मिडियातन्त्र, मनोरञ्जनतन्त्र, सामाजिक तन्त्र इत्यादिका
कुटनैतिक अपडेटहरूले घर भरिरहेछौ
फलाना नेताको रोड शो, कारनिवल, विजय उत्सवका नस्टालजिया
फलानी हिरोइनको कम्मरको नापबारे निर्मित कवर स्टोरीले थाकेर हैरान हुँदै
फेसबुकको देख अदेख पोलटिक्स
ननभेज एसएमएसको थुप्रामा डुब्दै पोर्न साइटमा छ्वाम्म हामफालेर आफै निस्साँसिदै छौ
तिम्रा कन्ट्रक्याटर, डिलर, सप्लायर,युनियन, दलाल, खबरे, चम्चे इत्यादि
तिम्रा लोन र इएमआइ, तिम्रा हप्ता र दलाली
तिम्रा स्वास्थ्य विमा र जीवन विमाका पुर्जाहरू
तिम्रा स्पष्टीकरण, एफिडेविड ,अपडेट इत्यादिका फाइलहरू
उत्तराधिकारीका नवीकरण इत्यादि इत्यादिका पर्वतमा आत्महत्यै गर्दैछौ
तिम्रा सेयर ,नाफा र नोक्सान
एफडी रेकरिङ, करेन्ट र सेविङ्स, आइटी एससेसमेन्टले एकोहोरिएका छौ
पुराना फोटा, पुराना सम्बन्ध, पुराना रोमान्स, घपलाबाजी, भ्रष्टाचार इत्यादिलाई थुकैले मेट्न खोज्दैछौ
घर त तिमीले बजार,अस्पताल , मसान इकोनोमिक कारखाना र मसान बनाइसकेका छौ
तर तिमीले देखेनौ, भित्तामा टाङ्गिएको लास्ट लिवको अद्भूत चित्र ?
छोरीले बनाएकी सूर्योदयको पेन्टिङ?
मैले सिह्रानी खोलमा प्रेमसहित कढाई गरेकी तिम्रो मिठो नाम ?
सुनेनौ क्या एकान्तको यो मधुर सङ्गीत ?
तर पनि म यति त आशा गर्छु, अब बाँकी रहेको एकान्तवासमा,
तिमी कुन्ठाले मातिएर मेरा एसएमएसहरू गन्ने छैनौँ
तिमी मेरा वाट्सएप र इमेलहरू चोरी चोरी पढ्ने छैनौ
मेरो मोबाइलको रिङटोन बदली गर्ने छैनौ
मेरा मोबाइल स्टाटस, सन्देश र फोटाहरूका जुक्ति सोध्ने छैनौ
तिमी रात दिन मेरै अघि पछि दाँया बाँया लागेर मेरो एकान्त चौपट्ट पार्ने छैनौ
मेरो बोलीचाली,उठाइ र बसाइको लयले जल्ने छैनौ
तिमी मेरो ओजन, गोलाई र चौडाई आदि नाप्ने छैनौ
मेरा आँचल ढल्दा, उठ्दा,लर्कदा, लत्रिँदा,जताततै शङ्का र जिज्ञासाले छक्क पर्ने छैनौ
तिमी मेरा अघि आफ्ना महिला मित्रहरूसँग जति गफ च्याट र वर्चुअल डेटिङ गर तर
यहाँका दूधवाला ,सेक्युरिटी गार्ड र डेलिवेरी वोयसँग मेरो लसपसको आरोप लाउने छैनौ
म यति राम्री किन भएँ अथवा कुरुप ?
म यति मोटी किन भएँ अथवा स्लीम ?
मेरा परेलाहरू किन झुकेका अथवा लर्केका? इत्यादि इस्युमा
तिमी आफ्नै कुन्ठाले पागल बन्ने छैनौ
रक्सीको लामो पट्यारलाग्दो लाइनमा उभेर फर्केपछि
मनका क्षोभ, ग्लानी र कुन्ठाका बद्ला तिमी मेरो ज्यानसँग लिने छैनौ र
एकान्तलाई झन झन भयानक पार्दै तिमी मलाई ब्वाँसोले झैँ घूरेर हेर्ने छैनौ,
आँखैले उनेर मेरो देह च्यातच्युत पार्ने छैनौ
र बन्द कोठालाई गोसखान पार्दै मलाई पटक पटक बलात्कार गर्ने छैनौ !
..........................................
रचनाकाल १८.०५.२०२०