भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
घर-२० / केवलचन्द्र लामा
Kavita Kosh से
वुद्दु विद्यार्थीको खाताजस्तो
मैलो पन्नाजस्तो आकाश
घरको टाउकोमास्तिर छ।
खियासरिको क्लिपले चेपेको छ एउटा घाम
आकाशको पन्नामा।
पोहोर साल रड़ाको मचाएर गएकी
मुख्लानी वर्खा
फर्कने समय भएको छ।
त्यो बाह्रबाठी झरीले फुटाएका
छानु, खिर्की, आँगन,बारी
लगभग कॉंप्दैछन्।
त्यही घोप्टे आकाशमुन्तिर छ घर
टिचर नभएको कक्षाझैं मनपरी।
मत्थु व्यवस्थाको लात खाएर
फुँइकेर माइत हानिएकी छे
घरको गौंथली।
सुनको मृगकै पछि लागेको छ घरको चामे।
लेटनाइट टेलिभिजनको घुस्सीले
झरिदिसकेको छ
चामे र गौंथलीको
प्रेमलापको दॉंत।
हिँउदे विदाको गाउँले प्राथमिक पाठशालाझैं
चकमन्न छ घरको कुनाकाप्चा
बाबुको झोंक देखेर।
घरको शोकशभामा मौन छ
घर।