मेरो घरको
बाटो भएर हिँड्छ देश
चे ग्वेभारा अंकित टोप लगाएर
युवा जोशमा कस्सिएका मुठीहरु उचालेर
क्रान्तिको रातो बाटो घाम डढेको सगरतिर
दौडिन खोज्छ देश ।
चैतको मौसममा आउने आँधी
क्रान्तिका ज्वालाहरु
समाप्त हुन्छ सम्झौताका हरफहरुमा
क्रान्तिको रातो गुलाब ओइलाउँछ
मन्त्री कमरेडको कालो कोटमा ।
सपनाको इन्द्रेणी सधैँ जस्तो उदाउँछ
गोलो रोटीबाट भोकको बास्ना बोकेर हिँड्छ
युग हाँक्न खोज्ने मान्छे
क्रान्तिकारीहरुको देशमा
सहिदको रातो रगत ह्वीस्कीजस्तो कालो बन्छ
र बाँडिन्छ महामहिमका ओठहरुमा ।
आश्चर्य !
सभासद्हरुको कलममा अंकित छ
छिमेकी मुलुकको झन्डा
नानीहरुले पढ्ने पुस्तकमा घटिरहेछ
सगरमाथाको उचाइ
नवनियुक्त प्रधानमन्त्रीलाई थाहा छैन
सार्वभौम राष्ट्रको सिमाना ।
खुसीको तारा हराएको विरहमा
विक्षिप्त बनेको सहिद पिता आत्महत्या गर्छ
आफ्नै पार्टीको झण्डामा बेरिएर ।
भीमसेन थापाहरु कायर बनेको यो मुलुकमा
भीम मल्लहरु बेइमान ठहरिएको मेरो बस्तीमा
किन दौडिरहेछौ चे ग्वेभारा
मेरो घरको बाटैबाटो !
मेरो बस्ती छेउ
इँटाभट्टीको चिम्नीबाट निस्किएको धूवाँको पर्वाह नगरी
माटो पकाइरहेको मजदुर
माघको रात चिर्ने गरी खोक्दै
गेट कुरिरहेको वृद्ध पाले
लाखौँ माइल टाढा मरुभूमिमा
आफन्तको भविष्य सुधार्न पसिना पोख्दै गरेको युवा ।
को हो सबसे बडा क्रान्तिकारी ?
नयाँ क्रान्तिको
पुरानो सपना देख्ने हामी वा
चे ग्वेभारा
तिम्रो टोपीमा
चम्किरहेको रातो तारा ?