चैतको हावा / कृष्णभूषण बल
यता मधेशतिर चैत लाग्यो
रुखहरू नांगो पारेर हावा मत्ता हात्तीझैँ मात्तिएको छ
केवल फूलहरूको सुगन्ध मात्रै समेट्ने कहाँ हो र हावाले
युगौँयुगको धूलोहरू पनि बढारिरहेछ
युगौँ बाँचेको रुखहरू पनि सहजै ढालिरहेछ।
कति इतिहास यस्तै हावाले बनाएछ जो हामी पढ्छौँ
कति इतिहास यस्तै हावाले बनाउँछ जो हामी लेख्छौँ
आत्मविश्वासको एउटा घरको निर्माण गरेको छु मैले पनि
यद्यपि कमजोर घरहरू मात्र नउडाओस् यस हावाले
यद्यपि कमजोर आवाजहरू मात्र नउखेलोस् यस हावाले।
समुद्रको पानी आकाशमा उडाइदिन सक्छ यस्तै हावाले
आकाशबाट बर्सेको पानी पनि हटाइदिन सक्छ यस्तै हावाले
कसरी अब यसो नभनूँ कि यो देशमा लागेको बादल पनि हटाउन सक्छ यो हावाले
कसरी अब यसो नभनूँ कि यो देशको अमिल्दो इतिहासको पन्ना पनि च्यातिदिन सक्छ यस्तै हावाले।
बाँसका चोङ्गेहरू बिगुल फुकेझैँ गरी एउटा क्रान्ति फुकिरहेछ आज हावाले
रुखका बुढा पातहरू आकाशभरि भुमरीमा धकेलिरहेछ आज हावाले
यस्तो लाग्छ ठेकेदारहरूले नाफा खाएर बनाएको घर अब धेरै दिन टिक्दैन
यस्तो लाग्छ नांगो डँडाल्नोमा न्यानो हुने घामलाई पनि अब बादलले छेक्दैन।
‘ऊँ मानि पद्मे हुं रे हुं’ लेखिएको मेरो अघिको ध्वजा बेस्सरी फर्फराइरहेछ आज हावामा
मेरै घरअघिको पीपलको रुख पनि स्वतन्त्र कराइरहेछ आज हावामा
लाग्छ यसरी हावा सत्य र शान्तिको बाटो गुज्रिरहेछ
लाग्छ यसरी हावा एउटा वसन्त भित्र्याउने सुरमा बिल्कुल आतुर छ।
यो हावा ! निश्चित लक्ष्यमा पुग्नुअघि कुनै अवरोध आइपरे
यो हावा ! निश्चित दिशामा पुग्नुअघि कुनै पहाडमा ठोक्किए
के ठेगान ? फर्केर आउँदा ‘ऊँ मानि पद्मे हुं रे हुं’को ध्वजा पनि च्यातेर नलैजाओस्
के ठेगान ! सारालाई शीतल दिने पीपलको रुख पनि ढालेर नहिँडोस्।
यता मधेशतिर चैत लागिसक्यो
हावा मत्ता हात्तीझैँ बेस्सरी मात्तिएको छ
डाडु पनिउँ हातमा लिने भान्से हो ! आगोदेखि होसियार
सारा परिवारको टुप्पी समाएर बाबु बन्न खोज्ने हो !
आगोदेखि होसियार !
हावादेखि होसियार !
०००