भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
छोरी / उपेन्द्र सुब्बा
Kavita Kosh से
छोरीले मिठाइ माग्न छाडी
विरक्तिएको छ मन हिजोआज .
उहिले जस्तो रोईकराई, चिच्याई
छोरीले मिठाइ मागे हुन्थ्यो -
'पापा एउटा मिठाइ किनिदिनु न!'
कसम! आज म रिसाउने थिइन
छोरीलाई आँखा सन्काएर तर्साउने थिइन
आज मसंग कविता बेचेको केहि पैसा छ
छोरीलाई मिठाइ किनिदिने मन पनि छ
तर, छोरीले मिठाई माग्न छाडी
विरक्तिएको छ मन हिजोआज!
आज-
छोरीलाई काखमा राखेर
रुँदै-रुँदै सोधूँ कि आँफै-
'छोरि मिठाई खाने?'
सायद, अब मेरो छोरी ठूली भइन्!