जूनको उज्यालामा / डेलमिरा अगस्तिनी / सुमन पोखरेल
उदास छिन्, दुखी छिन् जून,
निन्याउरी छिन् जून, र चिसी छिन् ।
मरिसकेकाहरूको आधा अनुहारजस्तो लाग्छ मलाई आधा जून...
र
मूल्यवान र सुन्दर भनिएका अरबी मोतीहरूभन्दा ज्यादा
कोपिला भई बसेको गुलाफ मनपर्छ मलाई।
यस धराको एउटा कुनामा बसेर
धर्तीकै रङले पूजा गर्छु म
ती उदास जूनको।
पूजा गर्ने गर्छु म त्यो मृत्युको आवरणको!
र रातको बिब्ल्याँटो समयमा बौरिने गर्छ मेरो हृदय
मायावी सुगन्धमा लठ्ठिएर उन्मत्त भएको फूलजसरी।
थाह छ मलाई
मदिराले रसिएर दैवी वचन बोल्ने ओठहरूका बारेमा,
ऐलाको सगुन खाएपछि
चौरमा झरेको जूनको छायालाई चुम्ने गर्छन् तिनीहरू।
र कतिपय खुस्कटहरू
तलाउमा त्यसको प्रतिविम्व चुम्दाचुम्दै मर्ने गर्छन्।
किन भने जून निर्दोषिताकी ज्योति हुन्,
किन भने
सेता चिजले तिनका रहस्यमयी उज्यालालाई चम्काउने गर्छन्, जेसुकैलाई स्निग्धताले नुहाइदिन्छन्।
अरू त अरू
निख्खर कालो हृदय पनि जूनको ओतमुनि
नपत्याउँदो गरी उज्यालो हुने गर्छ।