जेठ – २०५७ / मनप्रसाद सुब्बा
उन्मत्त छ जेठ महिना ।
त्यसको वाफीँदो उत्तेजनाको पसिना
मातलाग्दो फूलहरू भई फुटिनिस्केको छ
शिरीष र चिलाउनेको बोटमा ।
उन्मादको यो कत्ति शितल अभिव्यक्ति !
मान्छेहरूको उम्लिँदो उन्मादको आगो संझेर
म यो जेठको पोल्दो अँगालोबाट
एक तमासको शितलता पाइरहेछु ।
शिरीषको शिरभरि अनि काँधभरि
अभावका घाउहरू बर्साइदिने
नयाँ नयाँ भावहरू मन खोलेर फुलेका छन्
प्रेमको उच्चतामा उक्लेपछि
थाहै नपाई आवेगहरू पनि
फूलहरूमा अनुदित हुँदारहेछन् ।
आह ! यो गर्मीलाई म
तातो चिया जस्तो पिइरहेछु ।
चिलाउँनेको बोटभरि नै
उज्यालोका अनगिन्ती थोप्ला थोप्ला बिम्बहरू
दशै दिशा तर्फ एकै साथ हेर्दै
निर्दोष आँखाहरुसित फक्रेका छन् ।
बोधहरु फूलेको अबोद अभिव्यक्ति !
अनि कत्ति निस्काम पनि !!
यी गाउँ-बस्तिमा गर्मीको मौसम
दुइ महिने छुट्टीमा आएको लाहुरे जस्तै हुन्छ
तर शहरको भागदौडको
यांत्रिक ग्रीष्म जस्तो
संवेदनहीन हुँदैन त्यो